काठमाडौँ। आइतबार साँझ सुन व्यवसायीमाथि गोली प्रहार भएपछि दोषीलाई पक्राउ गर्न र सुरक्षाको प्रत्याभूति गर्न माग गर्दै कैलालीको अत्तरियाका सुनचाँदी व्यवसायीहरू आन्दोलित बनेका छन् । उनीहरूले सुनचाँदी पसल बन्द गरेर प्रदर्शनमा उत्रिएका हुन् ।
व्यवसायीहरूमा धेरै त्रास बढेको र सुरक्षाको अनुभूति नभएको भन्दै व्यवसाय नै बन्द गर्नुपरेको सुनचाँदी व्यवसायी सङ्घ कैलालीका अध्यक्ष कमलप्रसाद लामिछानेले बताए । उनले व्यवसायीलाई आक्रमण गर्नेलाई तत्काल पक्राउ गर्नसमेत माग गरे ।
गोदावरी नगरपालिका १ पूर्व–पश्चिम राजमार्गमा आइतबार साँझ पसल बन्द गरेर घरतर्फ जाँदै गरेका न्यू घोडाघोडी सुनचाँदी पसलका सञ्चालक ३१ वर्षीय विकास गौतममाथि मोटरसाइकलमा आएकाले गोली प्रहार गरेका थिए।
सेतो कलरको अपाची मोटरसाइकलमा आएका उनीहरूले सुनारसँग रहेको करिब ३३ तोला सुन लुटेर फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।
‘हामीले घाइतेलाई सोधपुछ गरिरहेका छौं । अहिलेसम्म त्यस्तो केही तथ्य बाहिर आएको छैन,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले भने, ‘अनुसन्धान जारी छ । यसलाई हामीले गम्भीर रूपमा लिएका छौँ ।’ अनुसन्धान पश्चात सत्यतथ्य बाहिर ल्याउने डीएसपी जोशीले बताए ।