काठमाडौँ। कतारको राजधानी दोहामा जारी रहेको फिफा विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले हात पारेको छ। लिओनेल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले कतारमा जारी २२ औं विश्वकपको उपाधि जितेको हो।
लुसैल स्टेडियममा आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको हो ।
खेलको पहिलो हाफमा २–० ले अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा २ गोल खान पुग्यो । निर्धारित समयमा २–२ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
अतिरिक्त समयमा पनि दुवै टोलीले एक एक गोल थपेपछि खेल ३–३ को बराबरी भएको थियो ।
३६ वर्षपछि विश्वकप फुटबलको उपाधि जितेको अर्जेन्टिनाले यो तेस्रो पटक विश्वकपको उपाधि जितेको हो। अर्जेन्टिनाले यसअघि सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि जितेको थियो। तर यता फ्रान्सले भने लगातार दोस्रो पटक उपाधि जित्नबाट चुकेको छ। फ्रान्सले यसअघि सन् १९९८ र २०१८ मा विश्वकप ट्रफी साथमा लागेको थियो।
खेल जीवनको उत्तरार्धमा रहेका कप्तान मेस्सीले यो आफ्नो लागि अन्तिम विश्वकप भएको बताइसकेका छन्।