काठमाडौँ। भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएको छ । आईओसीले आज पुस १ गते शुक्रबार पठाएको सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेल १२ रुपैयाँ ३१ पैसा तथा हवाई इन्धन १० रुपैयाँ ६१ पैसा घटेको हो ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा प्रशोधित पेट्रोलियमको मूल्यमा पनि गिरावट आएको हो । जसका कारण भारतबाट खरिद गर्ने पेट्रोलियम पदार्थको मूल्य पनि घटेर प्राप्त भएको नेपाल आयल निगमले जनाएको छ ।
यो पटक पनि घटेर मूल्यसूची आएकाले उपभोक्ताका लागि इन्धनको मूल्य केही घटाउने तयारी रहेको निगम स्रोतले जनाएको छ ।
नेपालमा मूल्य नघटाउँदासम्म निगमलाई अब पेट्रोलमा प्रतिलिटर करिब २० रुपैयाँ, डिजेलमा करिब १३ रुपैयाँ नाफा छ । निगमले आईओसीलाई करिब १३ अर्ब रुपैयाँ बक्यौता बुझाउन बाँकी छ भने सरकारलाई बुझाउनुपर्ने ऋण रकम ७ अर्ब रुपैयाँ ऋण छ ।
यस्तै, अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेका कारण निगमलाई केही राहत भएको। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ ।