काठमाडौं । मेलम्ची खानेपानी परियोजनाले सोमबारदेखि सुरुङमा पानी पठाउन सुरु गरेको छ । बाढीको उच्च जोखिम हुने भएपछि गत असारदेखि नै सुरुङको ढोका बन्द गरिएको थियो । तर खानेपानी विकास समितिले २६ किमि सुरुङ भर्न सिन्धुपाल्चोकको हेडवर्क्सबाट फेरी सुरुङमा पानी पठाउन सुरु गरेको छ ।
समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले भने,’आजदेखि हामीले पानी सुरुङमा पथान्तरण गरेका छौं, त्यही अनुसार पानी सुन्दरीजल प्रशोधन केन्द्रमा आइपुग्न र प्रशोधन गर्न समय लाग्ने भएकाले उपत्यकामा पानी वितरण गर्न अझै १२ देखि १५ दिन लाग्छ।’
गत महिनादेखि नै उपत्यकामा पानी ल्याउने गरी आवश्यक सुधार र तयारीको काम अघि बढेको थियो । आयोजनाको हेडवर्क्समा पुरिएका संरचना र आयोजनासम्म पुग्ने सडक बनाएर पानी पथान्तरण गरिएको हो ।
यसरी पानी सुरुङमा हाल्न बन्द गरिएको ६ महिना भएको छ। गत वर्ष बाढीले क्षति पुर्याएपछि बर्खामा सुरुङमा पानी पठाउन बन्द गर्न थालिएको हो।
काठमाडौं उपत्यकामा दैनिक १७ करोड लिटर पानी वितरण गर्ने समितिको लक्ष्य छ।