काठमाडौं, ७ चैत । कोरोना भाइरस(कोभिड १९)को संक्रमण रोकथामका लागि अहिले सरकारी तथा गैरसरकारी कार्यालय, अस्पताल, बैंक र बित्तीय संस्थाहरुले साबुनपानीले हात धुने र स्यानिटाइजर प्रयोग गर्ने गरेका छन् । कोरोना भाइरसको संक्रमणसँगै स्यानिटाइजरको कालोबजारी भइरहेको छ ।
८० रुपैयाँमा पाइने स्यानिटाइजर १ सय २० रुपैयाँमा बिक्री गर्नेहरु पनि देखिएका छन् । कोरोना भाइरसको संक्रमण रोकथामको निहँु पारी कमाउने मौका यही हो भनेर जो पनि स्यानिटाइजर उत्पादन गर्ने होडमा लागेका छन् । यसरी मौकामा कमाउनकै लागि अहिले नेपाली बजारमा नक्कली स्यानिटाइजर उत्पादन भइरहेको छ । जुन स्यानिटाइजरले जीवाणु नाशक काम नगर्ने तथ्य नेपाल केमिकल सोसाइटीका सचिव खिम पन्थी बताउँछन् । पन्थीका अनुसार जिवाणु नाशक काम गर्नका लागि स्यानिटाइजरमा कम्तीमा ७० प्रतिशत अल्कोहलको मात्रा हुनुपर्छ । पन्थीकै शब्दमा जिवाणु नाशक स्यानिटाजर उत्पादन कसरी हुन्छ ? पढ्नुहोसः
१ं जिवाणु संक्रमण रोक्न अल्कोहल झोलले जिवाणु नाशक काम गर्दछ तर त्यसमा ७० प्रतिशत अल्कोहलको मात्रा (शुद्ध अल्कोहलमा करिब ९९ प्रतिशत अल्कोहल हुन्छ) अनिवार्य हुनुपर्छ ।
२. अल्कोहल कि इथानल या आइसोप्रोपाइल या दुबैको मिश्रण जरुरी छ । बाँकी ग्लिसेरल या अरु Moisturizer, पानी र हाइड्रोजन पेरोक्साइड (WHO Guideline) अनुसार मात्रा मिलाएर स्यानिटाइजर तयार गर्नुपर्दछ ।
३. अहिले बजारमा जो सुकै पनि यसको उत्पादन र बिक्री बितरणमा लागेको पाइन्छ । संकटको बेला दाम कमाउने मौका छोप्नेहरु पनि प्रशस्त छन् तर जसले बनाए पनि कम्तिमा ७० प्रतिशत अल्कोहलको मात्रा सुनिश्चित गरेर मात्र यसको उत्पादन गर्नुहुन अनुरोध गर्दछु ।