Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चलचित्र ‘दुई नम्बरी’ निर्माण टिमले विकास बोर्डलाई स्पष्टीकरण बुझायो 


    आइतबार, कार्तिक ६ २०७९
    740
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं। नेपाली चलचित्र ‘दुई नम्बरी’ का निर्माण टिमले चलचित्र विकास बोर्डलाई सेन्सर कपीमा नसमेटिएका दृश्य वा संवाद नयाँ संस्करणमा नथपेको स्पष्ट पार्दै यदि थप भएको पाइएमा कारबाही भोग्न तयार रहेको भन्दै स्पष्टीकरण बुझाएका छन्  । 

    चलचित्रका निर्माता किरण नेपालीले बोर्डलाई बुझाएको स्पष्टीकरणमा ‘दुई नम्बरी’ को नयाँ संस्करणका बारेमा पत्रपत्रिका वा अनलाइनहरुमा प्रकाशित समाचारलाई आधिकारिक नमानिदिन पनि आग्रह गरेका छन् ।

    ‘उपरोक्त सम्बन्धमा चलचित्र ‘दुई नम्बरी’ को नयाँ संस्करणका बारेमा पत्रपत्रिका वा अनलाइनहरुमा प्रकाशित समाचारलाई आधिकारिक नमानिदिन हुन अनुरोध गर्दछु । आधिकारिक कुरा निर्माता किरण नेपाली र निर्देशक दीपेन्द्र लामाले आफ्नो फेसबुक पेजमा स्ट्याटसमार्फत् उल्लेख गर्नुभएको छ । उक्त स्ट्याटसमा चलचित्रको लम्बाइ हेरफेर गरिएको कतै उल्लेख छैन । हामीले चलचित्रका ध्वनि र कलरमा देखिएका केही प्राविधिक त्रुटिलाई संशोधन गरेर तेस्रो हप्तादेखि हलमा पठाएका हौं । त्यसैलाई अडियो र भिडियो दुवै पक्षमा परिमार्जन गरिएको भनिएको हो । हामीले सेन्सर कपीमा नसमेटिएका दृश्य वा संवाद नयाँ संस्करणमा थपेका छैनौं । थपिएको पाइएमा कानुन बमोजिम कार्वाही भोग्न तयार छौं,’ निर्माता नेपालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चलचित्रलाई नानाथरीका स्पष्टीकरण सोध्ने यो बोर्डको कदम संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध रहेको समेत ध्यानाकर्षण गराउन चाहन्छौं । कला र सिर्जनामाथि अंकुस लगाइरहने हो भने गणतन्त्र र लोकतन्त्रको कुनै औचित्य रहँदैन ।’

    यस फिल्ममा दीपेन्द्र लामा निर्देशित ‘दुई नम्बरी’मा दयाहाङ राई, सौगात मल्ल, उपासनासिंह ठकुरी र बुद्दि तामाङको अभिनय छ । २ घण्टा ५ मिनेट लामो फिल्मले मित्रताको कथा भन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार