काठमाडौँ। माल्दिभ्समा जारी रहेको साबा महिला बास्केटबल च्याम्पियनसिपको उपाधि श्रीलंकाले हात पारेको छ । मालेमा बुधबार राति माल्दिभ्सलाई ७२–५९ ले हराएर श्रीलंकाले उपाधि जितेको हो । श्रीलंकाले उपाधि जित्दा नेपाल च्याम्पियनसिपमा फेरि उपविजेता बनेको छ ।
माल्दिभ्सलाई पराजित गरेसंगै शीर्ष स्थानमा रहेर श्रीलंका च्याम्पियन बनेको हो । योसँगै नेपाल दोस्रो पटक उपविजेता बनेको हो । अघिल्लो संस्करण समेत श्रीलंकाले उपाधि जितेको थियो भने नेपाल उपविजेता बनेको थियो । प्रतियोगिताको पहिलो खेलमा नेपाल माल्दिभ्ससँग ५१–४७ ले पराजित भएको थियो । जुन हारले नेपाललाई उपाधिबाट बन्चित गरायो।
नेपालले दोस्रो खेलमा श्रीलंकालाई ५५–४९ ले हराएको थियो । तेस्रो खेलमा बुधबार भुटानमाथि ३५–२६ को जितसहित नेपालले यस पटक च्याम्पियन बन्ने सम्भावना जीवित राखेको थियो।
तर श्रीलंकाले माल्दिभ्सलाई हराएसँगै नेपालको च्याम्पियन बन्ने लक्ष्यले पूर्णता पाएन ।