Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शुरु भयो दशैं: आज घटस्थापना, घरघरमा जमरा राखिँदै


    सोमबार, असोज १० २०७९
    1.8K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। सम्पूर्ण नेपालीहरुको महान चाड विजया दशमी अर्थात बडा दशैँ आजबाट सुरु भएको छ । आज घटस्थापना एवं बडा दशैँको आज पहिलो दिन हो। आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने बडा दशैँ १५ दिनसम्म (कोजाग्रत पूर्णिमा) मनाइन्छ । आजको दिन हरेकको घरघरमा घटस्थापना गर्ने अर्थात् जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्ने चलन छ।

    आजबाट नवरात्र सुरु भएसँगै देशभरका देवी आलयहरुमा दर्शनार्थीको भिड देख्न सकिन्छ । काठमाण्डौका भगवती मन्दिरमा पनि दर्शनार्थीहरुको भिड छ । यस अवसरमा भद्रकाली, सङ्कटा, दक्षिणकाली, रक्ताकाली, इन्द्रायणी, चामुण्डा, श्रीमहालक्ष्मीदेवी मन्दिर, गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, कालीका स्थान, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवम् दर्शन गर्ने भक्तजनको भिड लाग्ने गर्छ ।

    दुर्गाको प्रतीकका रूपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुट्टै नव कन्याको पूजा समेत गर्ने गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्षमाथिका हुनुपर्ने शास्त्रीय विधान छ । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्रको पाठ पारायण पनि गरिन्छ ।

    पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिन्छ ।

    यसरी दानवी प्रवृत्तिबाट मानिसलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रोक्त कथन छ । दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीककाे रूपमासमेत मनाउने गरिन्छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार