काठमाडौँ । गोरखामा तीजको दर खाएका एक सय भन्दा बढी गाउँले बिरामी भएका छन् । दर खाएपछि गोरखा नगरपालिका,७ मान्द्रेढुङ्गाका महिला, पुरुष र बालबालिका बिरामी भएका हुन् ।
तीजको भोज खाएका एक गाउँका सबै बिरामी परेको वडाध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिए । केही दिन अघि स्थानीय महिला पुरुष मिलेर टोलमै दर खाएका थिए । यसलगत्तै उनीहरु बिरामी परेका हुन् ।
उनीहरु बिरामी परेको केही समयपछि मात्र आफूले जानकारी पाएको बताउँदै वडाध्यक्ष श्रेष्ठले भने, ‘बरामी परेको थाहा पाएपछि स्वास्थ्यकर्मी लगेर उपचार सुरु गरिएको छ । आज धेरै जसोलाई सामान्य नै भईसकेको छ । अरु पनि निको हुन क्रममै छन् ।‘
बिरामीको घरघरमा स्वास्थ्यकर्मीको टोली पठाएर आवश्यक औषधी उपचार भईरहेको उनले बताए । तीन जनाको अवस्था अल्लि गम्भिर भएकाले घरमै स्लाइन पानी दिएर राखिएको वडाध्यक्ष श्रेष्ठको भनाइ छ । उनका अनुसार पेट दुख्ने, वान्ता हुने, जरो र पखाला लाग्ने जस्ता लक्षणहरु बिरामीमा देखिएको छ ।