Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • करोडौंपति सुब्बाबिरुद्ध अख्तियारको एक्सनः माओवादी नेता बर्षमान पनि मुछिए


    शनिबार, असार ४ २०७९
    1.4K
    Shares
    Basu Dev Paudel
  • १० मिनेट पाठ
  •  काठमाडौं । बजारमा सुब्बाको निकै चर्चा छ । अर्थमन्त्री जनार्दन शर्माले जेठ १४ गते मध्यरातमा सुब्बा रघुनाथ घिमिरेलाई बोलाएर बजेटमा करका दरहरु घटबढ गरी अरबौंको हेराफेरी गरेको बिषयले सडकदेखि सदनसम्म हंगामा भइरहेको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार अर्का नायबसुब्बा भीमकान्त भण्डारीबिरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर गरेको छ । रघुनाथ घिमिरे अर्थमन्त्री तथा माओवादी नेता जनार्दन शर्मासँग जोडिएका छन् । भीमकान्त भण्डारी अर्का माओवादी नेता बर्षमान पुनसँग जोडिएका पात्र हुन् ।

    भण्डारीले करिब ४ बर्ष जागिर खाएको तथ्य अख्तियारले फेलापारेको छ । ४ बर्षको अवधिमा उनले आर्जन गरेको सम्पत्ति भने अथाह देखिएको छ । ४ बर्षमा एक नासुको हाइड्रोपावरदेखि ल्याब र स्वास्थ्यका क्षेत्रमा बीसौं करोडौं लगानी हैसियत कसरी भयो ? उनले ४ बर्षको बीचमा करोडौं रुपैयाँको सम्पत्ति कसरी आर्जन गरे ?

    २०७३ मा नासुमा जागिर खाएर स्वेच्छिक अवकाश लिएका भीमकान्त भण्डारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी रुपमा अकूत सम्पत्ति आर्जन गरेको शुक्रबार मुद्दा दायर गरेपछि यस्ता छोपिएका तथ्यहरु खुल्लान् । अख्तियारले भण्डारीले आर्जन गरेको गैरकानुनी सम्पत्ति ६ करोडको हाराहारीमा मात्र फेलापारेको छ । तर उनले बिध ल्याबदेखि विभिन्न क्षेत्रमा अरबकै हाराहारीमा लगानी गरेको स्रोत बताउँछ । भण्डारीको करोडौंको गैरकानुनी सम्पत्ति कसको हो ? उनी बर्षमान पुन मन्त्री हुँदा उनको सचिवालयमा कार्यरत रहेका थिए । आजको उनको अरबको साम्राज्यमा बर्षमान पुनको समेत नाम मुछिन पुगेको छ ।  

    अख्तियारको अनुसन्धानबाट देखिएको तथ्य

    स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, कलवलगुडी, झापाका तत्कालीन बरिष्ठ व्यवस्थापन सहायक भीमकान्त भण्डारीले सार्वजनिक पदमा बहाल रहँदा पदको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरी परेपछि आयोगले अनुसन्धान सुरु गरेको थियो । भण्डारी २०७३ भदौ २१ मा राजपत्र अनंकित प्रथम श्रेणी बरिष्ठ व्यवस्थापन सहायक पदबाट सार्वजनिक सेवामा प्रवेश गरी २०७७साउन १ मा स्वेच्छिक अवकाश भएका थिए । उनी सेवा प्रवेश गरेको मितिदेखि २०७८ पुस मसान्तसम्मलाई जाँच अवधि कायम गरी आय व्यय गणना गर्दा भण्डारीको पारिश्रमिक, श्रीमतीको पारिश्रमिक बचत, कर्मचारी संचय कोषबाट लिएको ऋण सापटी, उनी सार्वजनिक सेवा प्रवेश पूर्वको बचत (जाँच अवधि अघिको बचत) समेत गरी जम्मा २६ लाख ६१ हजार ६३६ रुपैयाँ ९ पैसा आय आर्जन गरेको देखिन्छ ।

    भण्डारीको खर्च तथा लगानी (व्यय) तर्फ जग्गा खरिद, बिभिन्न बैंक तथा हाइड्रोपावर कम्पनीहरूको शेयर खरिद र विभिन्न बैंकमा रहेको मौज्दातसमेत गरी जम्मा रु. ६ करोड ५० लाख ६५ हजार ६४२ रुपैयाँ ५३ पैसा देखिन्छ । उनको कुल आय आर्जन २६ लाख ६१ हजार ६३६ रुपैयाँ ९ पैसामा भण्डारीले गरेको कुल खर्च तथा लगानी (व्यय) रु. ६ करोड ५० लाख ६५ हजार ६४२ रुपैयाँ ५३ घटाउँदा हुन आउने रु.६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ ४४ पैसा बराबरको खर्च तथा लगानी (सम्पत्ति) को स्रोत खुल्न सकेन । उक्त सम्पत्तिको स्रोत खुल्न नआएको हुँदा भण्डारीले सार्वजनिक सेवाको पदमा बहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको अख्तियारले ठहर गरेको छ । अख्तियारले भण्डारीलाई बिगो रु. रु.६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ ४४ पैसा कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको कैद एवं बिगो बमोजिम जरिवाना हुन र त्यसरी आर्जन गरेको गैरकानूनी सम्पत्ति जफत गर्न मागदाबी गरेको छ । 

    भीमकान्त भण्डारी को हुन् ?

    गुल्मी मालिका गाउँपालिका–५ का सामान्य परिवारका हुन् भण्डारी । तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनको सचिवालयमा कार्यरत भीमकान्त भण्डारी छोटो अवधिमा अरब लगानी गर्ने हैसियतमा कसरी पुगे ? उनलाई नजिकबाट चिन्नेहरु नै चकित थिए । उनले कोभिड–१९ को समयमा कोरोना परीक्षण गर्ने बिध ल्याब संचालनमा ल्याएका थिए । जसमा माओवादी नेता बर्षमान पुनकै नाम जोडी मिडियामा समाचार आएका थिए ।

    उक्त कम्पनी सुरुमा भण्डारीका भाइ विवश भण्डारी र ध्रुव मैनालीको नाममा थियो । सुरुमा अधिकृत पूँजी २५ लाख रुपैयाँ रहेको बिध म्यानेजमेन्ट प्रालिको सेयर नामसारी भएपछि भने पूँजी घटाएर २० लाख बनाइएको थियो ।

    नयाँ सेयर सदस्य रहेका भीमकान्त र दिपेश न्यौपानेको नाममा आधा आधा सेयर बाँडफाँट भएको कम्पनी रजिष्ट्रार कार्यालयको रेकर्डमा देखिन्छ । भीमकान्तले १० लाख रुपैयाँ र दिपेश न्यौपानेले १० लाख रुपैयाँ चुक्ता पुँजी जम्मा गरेको समेत रेकर्डमा देखिन्छ ।

    स्थानीय विकास मन्त्रालय, अर्थ मन्त्रालय, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयमा मन्त्रीको सचिवालयमा काजमा बसेका उनी २०७४ चैतदेखि ऊर्जामन्त्री वर्षमान पुनको सचिवालयमा थिए । कम्पनी दर्तादेखि आरडीटी किटको व्यापार गर्दासम्म ऊर्जामन्त्रीको सचिवालयमा रहेका उनी गत असार १५ मा मात्रै स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा फिर्ता भएका थिए । तर उनी आफ्नो दरबन्दी भएको कार्यालयमा नगई तालुक अड्डामा नै बसेका थिए ।

    पुनको सचिवालयमा रहँदा भण्डारीले आर्थिक स्रोत संकलन गर्न संयोजन गर्ने गरेका थिए । त्यसपछि स्थानीय विकासमन्त्री बनेका हितराज पाण्डेले समेत भण्डारीलाई नै स्वकीय सचिव राखेका थिए । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेकी आशा कोइरालाले पनि भण्डारीलाई नै स्वकीय सचिवालयमा राखेकी थिइन् । ओली सरकारबाट राजीनामा दिनुअघि लामो समय ऊर्जामन्त्री बनेका वर्षमान पुन मगरले फेरि भण्डारीलाई नै स्वकीय सचिवालयमा ल्याएका थिए । पुनको सचिवालयमा रहँदा भण्डारीले  पुरानो तरिकाले काम थालेका थिए ।

    वर्षमान पुन ऊर्जामन्त्री भएकै समयमा नेपालसहित विश्वभर कोरोना महामारी आएको थियो । त्यसको परीक्षणका लागि सरकारले ओम्नी समूहसँग आरडीटी किट किनेर परीक्षण गर्ने निर्णय गरेको थियो । यसरी ओम्नी समूहसँग किट खरिद गर्दा मूल्य बढाएर करोडौँ घोटाला गरेको भनी तत्कालीन सत्तारुढ नेकपाकै प्रचण्ड पक्षले प्रधानमन्त्री ओली पक्षको विरोध गरेको थियो ।  

    ओम्नी घोटालामा माओवादी पक्षका ऊर्जामन्त्री वर्षमान पुनकै स्वकीय सचिवालय सदस्य भण्डारीको प्रत्यक्ष संलग्नता रहेको उजागर भएको थियो । कागजी रुपमा भण्डारीको स्वामित्व रहेको बिध ल्याबले ओम्नीकै २२ करोड ८५ लाख ६१ हजार पाँच सय ६० रुपैयाँको आरडीटी किट खरिद गरेर सरकारलाई बिक्री गरेको नाटकीय रेकर्ड भेटिएको थियो । उक्त ल्याबमा निर्माणमा मात्रै १५ करोड रुपैयाँभन्दा बढी खर्च गरेको ल्याबकै एक प्राविधिक बताउँछन् । जुन ल्याबमा बर्षमान पुनकै लगानी रहेको कुरा मिडियामा आएको थियो ।

    बिध ल्याब खोलिएपछि भीमकान्तको त्यतिको लगानी गर्ने हैसियत नै नभएको बिषय बाहिरियो । २८ हजार रुपैयाँ तलब खाने सुब्बाले त्यतिका करोड रकम कहाँबाट ल्याए भन्ने प्रश्न पनि त्यो  बेला उठेको थियो । जुन बिषयमा अख्तियारले छानबिन सुरु गरेको थियो ।

    अख्तियारले भण्डारीको नाममा ६ करोड हाराहारी मात्रै गैरकानुनी सम्पत्ति भेटाएको छ । स्रोतका अनुसार विध ल्याबका देखावटी संचालक भीमकान्त भण्डारीको नाममा ४० करोडभन्दा धेरै लगानी छ । भण्डारीको नाममा काठमाडौंमै तीन करोडभन्दा धेरै मूल्य पर्ने घर समेत खरिद गरेको तस्बिर भेटिएको थियो । गुल्मीको सामान्य परिवारमा जन्मेका भण्डारीको सम्पत्ति विवरण हेर्दा यति धेरै लगानी गर्ने आर्थिक हैसियत छैन । अख्तियारले नै उनको पुख्र्यौली सम्पत्तिदेखि जागिर खाँदासमेतको तलव सुबिधाको जोड्दा २६ लाखमात्रै रहेको छ । तर आज भण्डारीले बर्षमानकै आडमा एनसेलको लुम्बिनी र कर्णालीको ठेक्कापट्टा लिएका छन् भने हाइड्रोपावरमा समेत उनको लगानी छ । उनी मलको ठेक्कामा समेत जोडिन पुगेका छन् । उनले ल्याएको मल गुणस्तरहीन भएकाले कृषि सामग्री कम्पनीले लिन नमानेपछि उच्च अदालत पाटनमा रिट दायर गरी अन्तरिम आदेश ल्याएका थिए । तर अझै पनि कम्पनीले उनको कम्पनीको मल लिन अस्वीकार गरिरहेको छ ।

    गुणस्तरहीन मल खरिद गर्ने तत्कालीन कृषिमन्त्री पदमा अर्यालको निर्देशन पालना गर्दा कम्पनीका प्रमुख नेत्र भण्डारीसहितका कर्मचारीका बिरुद्ध अख्तियारले मुद्दा दायर गरेको थियो । जसका कारण भण्डारीले अन्तरिम आदेश नै ल्याए पनि कम्पनीले मल खरिद गरेको छैन । मल अभावका बारेमा संसदमा ब्यापक कुरा उठेपछि २०७९ जेठ २५मा उनले आफ्नो फेसबुक पेजमा लेखेका छन्–‘नाकामा मल छ किसान खाली हात । सम्बन्धित निकायको ध्यान पुगोस् ।’ उनले आफूले नाकामा मल ल्याएको र राज्यकै कारण किसानले नपाएको कुरा लेखेका हुन् ।

    भण्डारीको फेसबुकवालमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग खिचिएका फोटाहरु पनि राखिएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार