काठमाडौं ।सरकारी छाप कीर्ते र ठगी मुद्दामा दोषी ठहर भई फरार हुँदै आएका एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनले गत ०७० चैत १७ गते फैसला गर्दै दोषी ठहर भई फरार हुँदै आएका ललितपुरको महाङ्काल बस्ने ४३ वर्षीय हरिशरण महतलाई बुधबार साँझ पक्राउ गरिएको हो । महतलाई आज काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको सीआईबीका प्रमुख प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।
सो मुद्दामा उच्च अदालतको फैसलाले दुई वर्ष कैद तथा ३७ लाख ५० हजार जरिवाना हुने ठहर गरेको थियो । उनी ललितपुरको सातदोबाटोबाट पक्राउ परेको आज सीआईबीले विज्ञप्तिमार्फत जनाएको छ ।
महतसमेतका व्यक्तिहरुले लोप्साङ लामा र निजकी श्रीमती च्यूङ्ताङ लामाको नाममा रहेको कठमाडौँ सीतापाईलास्थित कित्ता नम्बर ८१८ को जग्गा मालपोत कार्यालय कलङ्कीका खरिदार भीमबहादुर राईसमेतको मिलोमतोमा सरकारी छाप कीर्ते गरी बिक्री गरेका थिए ।
उनीहरुले काठमाडौँ जिल्ला अदालतबाट जारी भएको अधिकृत वारेसनामालगायत अन्य कागजात नक्कली बनाई उक्त जग्गा सिन्धुपाल्चोकका कमलकुमार श्रेष्ठको नाममा नामसारी गराई कास्कीका प्रवीणमान श्रेष्ठलाई गफलतमा पारी ७५ लाखमा बिक्री गरेको जनाइएको छ । सोही कसुरमा संलग्न मालपोत कार्यालय कलङ्कीका भीमबहादुर राईलाई २०७४ सालमा नै पक्राउ गरेको थियो । रासस