काठमाडौं । मिटरब्याजमा पैसा लिएर धेरैलाई घरबारविहीन बनाउने टिकेन्द्र ओझा लुकीलुकी हिंडेका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंज अगाडि २०५४ देखि मेडिकल संचालन गर्दैआएका ओझाले विभिन्न ब्यक्ति र सहकारीबाट ब्याजमा १० करोड रुपैयाँ लिएर बेपत्ता भएका छन् ।
सुनौलो÷वेयल फेयर ड्रग हाउस नामक मेडिकल पसल संचालन गर्दैआएका ओझा विगत ६ महिनादेखि फरार भएका हुन् । उनको चावहिलस्थित घर र मेडिकलको २ वटा सटरमा औषधि पसल देखेका आधारमा धेरैले उनलाई चर्को ब्याजको प्रलोभनमा ऋण दिएका थिए । औषधि होलसेल गर्नेहरुसँग पनि मिटरब्याजमा रकम लिएका छन् ।
उनले चिनजानका साथीभाइको समेत रकम मिटरब्याजमा लिएका थिए । उनको घर बैंकले लिलाम गरिसकेको छ भने मेडिकल मिटरब्याजमा ऋण दिनेमध्येका केही ब्यक्तिले कब्जा गरिसकेका छन् । मिटरब्याजमा १० करोड लिएर उनी श्रीमती अन्जु सापकोटा र परिवारसहित फरार भएका छन् ।
ओझाले ४ वटा मोवाइल बोकेका छन् । तर अहिले उनका सबै मोवाइल स्वीचअफ छन् । उनी काठमाडौंबाट फरार भए पनि ससुराली घर नुवाकोट घरतिर लुकेको आशंका गरिएको छ । श्रीमतीलाई माइतीमै राखेका ओझाले २०७८ माघ २९ मा नुवाकोटस्थित ससुरालीमा वैवाहिक कार्यक्रममा भाग लिएको सूचना पनि पीडितहरुले थाहा पाएका छन् । पीडितहरुले प्रहरी गुहारे पनि ओझालाई गम्भीरतापूर्वक खोजी नगरिएको गुनासो गरेका छन् ।