काठमाडौं, ४ चैत ।
दैनिकजसो ट्रिपरले किचेर मानिसको मृत्यु भएका समाचार आउने गर्दछन् । लापरबाहीपूर्ण ढंगले ट्रिपर चलाउँदा धेरै मानवीय क्षति भएपछि सरकारले राति ८ बजेपछि मात्र ट्रिपर चलाउन दिने निर्णय गर्यो । तर निर्माण ब्यवसायी र ट्रिपर ब्यवसायीका सामु सरकार लत्रियो र त्यो निर्णयमा धेरै महिना टिक्न सकेन । ट्रिपर चालकहरुले मोटरसाइकल सवारदेखि पैदलयात्रीलाई ठक्कर दिएर मार्ने क्रम सुरु भयो ।
सोमबार बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिई गम्भीर घाइते भएका खानीखोला गाउँपालिका–१ बस्ने वर्ष २६ की जुनिमाया गोले र उनकी ३ वर्षीया छोरी स्मारिका तामाङको बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । छोरीेलाई ट्रिपरको ठक्करबाट जोगाउन खोज्दा आमा जुनिमाया गोलेलाई पनि ट्रिपरले ठक्कर दिई घाइते बनाएको थियो । ट्रिपर दुर्घटनाका कारण १३ बर्षको बीचमा सयौंको संख्यामा मानिसको ज्यान गएको छ । अटोमोवाइल क्षेत्रका जानकार सुमित थापाले दुर्घटनाका कारण के के हुन् भन्नेबारे खुलाएका छन् ।
टिपर दुर्घटनाका कारण
१. टिपरको बनावट ।
२. सिधै ठुला गाडीको लाइसेन्स दिनुः शुरूमा लाइट त्यसपछि मिनी अनि हेभी सवारीको लाइसेन्स दिनुपर्नेमा यातायात ब्यवस्था विभागको मिलेमतोमा कम्तीमा ५. हजारदेखि १ लाख रुपैयाँसम्म घुस लिएर एकैपटकमा ठूला गाडीको लाइसेन्स दिनु । ट्रायलमा फेल भए पनि पैसा खाएर लाइसेन्स दिनु ।
३. टिपर चलाउने ड्राइभरको अनुभव कम हुनु, उमेर नपुग्नु । कम्तीमा ३० वर्ष कटेपछि मात्रै चलाउन दिनुपर्छ । ट्रिपर चलाउन दिन कम्तीमा अन्य सवारी चलाएको ७–८ वर्षको अनुभव हुनुपर्छ ।
४० बाइक र स्कुटर तथा अन्य सवारी साधनलाई पनि समय कार्डको ब्यवस्था गरिदिनुपर्छ । बाइकवालाको ओभर स्पिड पनि मुख्य कारण हो ।
५. कतिपय बाइक र स्कुटरवाला र अन्य सवारीको पनि लाइसेन्स नहुनु, नक्कली हुनु, ट्रायल फेल भए पनि यातायात कार्यालयले घुस लिएर लाइसेन्स दिनु ।
६. अर्को कारण पैदलयात्रीलाई कहाँबाट हिड्ने, कहाँ बस रोक्न लगाएर चढ्ने, कुन दिशाबाट हिंड्ने, कहाँबाट बाटो काट्ने भन्ने कुराको ज्ञान नै छैन । त्यसैले पैदल यात्री शिक्षाको अभाव छ ।
७. सवारी चलाउँदा दुर्घटना हुन सक्छ । यदि अन्जानमा भएको भए, लापरवाही नभएको भए उसलाई त्यति धेरै कारवाही गर्नुहँुदैन । तर सवारी चालकले यदि जानीजानी, लापरवाही तरिकाले चलाएको प्रमाणित हुँदाहुँदै पनि दुर्घटना हुँदा प्रहरी, सरकारी वकिल कार्यालय र अदालतसम्मको मिलेमतोमा पैसा खाएर त्यस्ता ज्यानमारा ड्राइभरलाई ३५ दिनसम्म थुनेर छोडिदिने ब्यवस्थाका कारण पनि दुर्घटना बढिरहेको छ । ८–१० जना ड्राइभरलाई आजीवन जेल सजाय होस् त मान्छे कति सचेत भएर सवारी चलाउँछ ?