Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मालपोतका अर्बपति खरिदारको कथाः झड्केलो छोराका नाममा पनि घरजग्गा


    सोमबार, फाल्गुन १६ २०७८
    3K
    Shares
    Basu Dev Paudel
  • ६ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकाका मालपोत कार्यालयहरुमा निजामती सेवा नियमावली बिपरीत शाक्तिकेन्द्रको आडमा दसौं वर्ष कार्यरत रहेका कर्मचारीहरुका कारण सरकारी जग्गा गैरकानुनीरुपमा दर्ता गर्ने, एउटाको जग्गा कीर्ते गरी अर्कैका नाममा पास गरी बिक्री बितरण गर्ने, पूँजीगत लाभकर छली गर्नेजस्ता घटना बढिरहेका छन् ।

     मालपोत कार्यालयको आम्दानी रसिद नै नक्कली छापेर राजस्व छली गरेका घटना पनि प्रकाशमा आइसकेका छन् । दर्जा खरिदार, नायबसुब्बा भए पनि त्यस्ता कर्मचारीहरुले पदको दुरुपयोग गरी अरब रुपैयाँको गैरकानुनी रुपमा आर्जन गरेका छन् । काठमाडौं उपत्यकाका मालपोत कार्यालयहरुमा लामो समय कार्यरत केही कर्मचारीहरुको सम्पत्तिको खोजी गर्ने हो भने बीसौं करोडको फेलापर्ने भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयकै अधिकारी बताउँछन् । यस्तै एक पात्र हुन्, काठमाडौंको चावहिल मालपोतका अर्बपति खरिदार लक्ष्मण बस्नेत ।

    खरिदार बस्नेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७८ फागुन १२ मा १ लाख ३५ हजार घुसको रकमसहित नियन्त्रणमा लिएको छ ।  बस्नेतले अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई राम्रै नजराना बुझाएर अकूत सम्पत्तिमा धेरै उजुरी पर्दा पनि उन्मुक्ति पाउँदै आएका थिए । भोजपुरका बस्नेत १० बर्षदेखि चावहिल मालपोतमा बसेर नियम कानुन बिपरीत कार्य गर्ने र घुस लिएर त्यो सम्पत्ति झड्केला सन्तान र आफन्तका नाममा लुकाउन तल्लीन रहँदैआएका छन् । अख्तियारमा दीप बस्नेत रहुञ्जेल उनलाई कसैको डर थिएन । दीप बस्नेत ललिता निवासको जग्गा प्रकरणमा मुछिएर जेल परेपछि भने यिनको सेटिङ भताभुङ्ग हुन पुग्यो ।

    फागुन १२ मा खरिदार बस्नेतसहित होटल ब्यवसायी मिना मगर र लेखापढी ब्यवसायी विनोद श्रेष्ठलाई अख्तियारले घुससहित नियन्त्रणमा लिएपछि उनको भ्रष्टाचारको साम्राज्यबारे एक एक तथ्य सार्वजनिक भइरहेका छन् ।

    डायरी एक्सप्रेस साप्ताहिकका सम्पादक नारायण शर्माले खरिदार बस्नेतले मालपोत कार्यालय चावहिलमा कार्यरत रहँदा कति हदसम्म निचतामा ओर्लिएर भ्रष्टाचार गरे ? त्यो सम्पत्ति कहाँ कहाँ लुकाएका छन् भन्ने कुरा सार्वजनिक गरेका छन् ।  काठमाडौं महानगरपालिका चावहिलस्थित मुस्ताङ हाम्रो थकाली भान्छाघरबाट घुस रकमसहित खरिदार बस्नेतलाई आयोगले नियन्त्रणमा लिएको थियो । बस्नेतले कान्छी श्रीमतीपट्टिका पहिलो श्रीमान्तर्फका छोरा (झट्केलो छोरा) रोमेश मानन्धरको नाममा मालपोत कार्यालयमा रहँदा अवैध रुपमा कमाएको सम्पत्ति लुकाउने गरेको एक लेखापढी व्यवसायीले बताए । उनका अनुसार झट्केलो छोरा रोमेश खरिदार बस्नेतकै खर्चमा अष्ट्रेलिया गएका थिए । तर, केही  महिना अघि नेपाल आएर हरिसिद्धि निवासी एक युवतीसँग विवाह गरेका छन् । उनको नाममा बस्नेतले मखनमा घर किनिदिएका छन् ।

    अर्बपति खरिदार बस्नेतका जेठी श्रीमतितर्फका छोराहरु हिमाल जग्गा दलाली काम गर्छन् भने कान्छा छोरा पर्वत चावहिलमा रहेको नमस्ते नेपाल सहकारीका सञ्चालक हुन् । अवैध रकम राख्न सहज हुने ठानेर बस्नेतले छोरालाई सहकारीमा सहभागी गराएका छन् ।

    खरिदार बस्नेत र उमेर ढाँटेर ७ महिना बढी जागिर खाएका मालपोत कार्यालय प्रमुख कलकबहादुर खड्का मिलेर काठमाडौं महानगरपालिका वडा नम्बर ७ चावहिलमा श्रेस्ता र नक्सा बमोजिम फिल्डमा जग्गा नै नभएको पुर्जा तयार गरेका थिए । ३०० नम्बर कित्ता लेखिएको उक्त प्रमाणपुर्जा अनुसार फिल्डमा जग्गा नभए पनि खरिदार बस्नेत र तत्कालिन मालपोत अधिकृत कलक बहादुर खड्काले फेवा विकास बैंक (पछि गण्डकी विकास बैंक) मा राखेर रकम निकालेका थिए । बस्नेतकै सल्लाहमा खड्काले उमेर ढाटेर सात महिना बढी जागिर खाएका थिए । पछि कर्मचारी किताव खानाले झण्डै सात महिना बढी जागिर खाएका कारण पेन्सनपट्टा नै रोकेपछि तलब रकम फिर्ता गरेका छन् । 
    बस्नेतले भू–माफियाहरुसँग मिलेर अनेक धन्दा नै चलाए ।  

    बस्नेतले भ्रष्टाचारको काण्डमा मात्रै नभएर कतिपयलाई अपहरण गर्ने, कुटपिट गर्ने जस्ता कामहरु केही प्रंहरीका अधिकृतसँग मिलेर गरेको आरोप छ । उनका पुराना पार्टनर भीम कार्की अहिले बेपत्ता नै भएका छन् । त्यसैगरी घर नजिकको भत्केको पुलसँगै माधव बुढाथोकी नामका काठ ब्यापारीलाई बस्नेतले अपराधिक काममा प्रयोग गर्ने गरेको एक लेखापढी व्यवसायीले बताए । बस्नेतले आफ्ना नाममा केही पनि सम्पत्ति राखेका छैनन् । उनका मीना मगर जस्ता तिहारमा टीका लगाएर बनाएका आधा दर्जन बहिनीहरु रहेको लेखापढी ब्यवसायी बताउँछन् । जसका नाममा उनले सम्पत्ति पनि राखेका छन् । आफ्नो गलत धन्दामा अवरोध बन्नेहरुलाई बिचौलिया मार्फत् मुद्दा दिएर अल्मल्याउनेसम्मका काम पनि गर्दै आएका छन् ।

    बस्नेतले चार वटा मोबाइल बोक्ने गरेका छन् । भत्केको पुल नजिक उनी बस्ने घरमा तीन वटा विशेष सुरक्षसहितको गेट बनाएका छन् । त्यो घरमा बस्नेतसँग कान्छी श्रीमती सीता मात्रै बस्छिन् । जेठी श्रीमतीपट्टिका दुई छोराहरु चाहिँ चावहिलमा बस्ने गरेको एक लेखापढी व्यवसायीले बताए ।

     त्यसैगरी कान्छी श्रीमती सीतातर्फकी छोरी लक्ष्मीको कार समेत आजकाल बाबुराम बस्नेत नामका व्यक्तिले चलाउँदै आएका छन् । कतिपय काममा ठग्नका लागि उनले एक जना सागर थापा नामका व्यक्तिलाई नक्कली सभासद बनाएर धम्की दिने काममा प्रयोग गर्ने गर्दछन् ।

    भूमिब्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक जीतबहादुर थापा, केशरबहादुर बानियाँ, रोहित भट्टराई, मुक्ति आचार्यदेखि सबैलाई प्रभावमा पारी मालपोत कार्यालय चावहिलमा कार्यरत रहेका थिए । 

    मालपोतमा कार्यालय सहयोगीसमेतसँग सेटिङ मिलाएर फोटो परिवर्तन गर्ने काममा पनि बस्नेतले विद्याबारिधि नै गरेका छन् । उनी जहाँ जान्छन्, त्यहाँका हाकिमहरु उनीप्रति दाहिने भइहाल्छन् । खरिदार बस्नेतको परिवार र अन्य टीका लगाएका बहिनीहरुको नाममा छानविन गर्न अख्तियारले चुक्यो भने अर्को दीप बस्नेत प्रयोग गरेर लक्ष्मण सहजै छु्ट्ने अनुमान मालपोतका कर्मचारीहरुले गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार