सशस्त्र प्रहरी बलले नेपालफेस डटकममा बिभिन्न मितिमा प्रकाशित समाचारहरुको खण्डन गरेको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता कामु एसएसपी कमलप्रसाद तिउसीनाले २०७८ फागुन ९ मा पठाइएको खण्डनमा उल्लेख छ–नेपालफेस डटकममा ‘जाँदाजाँदै सशस्त्रका आइजीपीको कमाउने दाउ, करोडौंको ठेक्का सेटिङमा दिंदै, गृहमन्त्रीको नाम लिंदै सशस्त्रका गण र गुल्मको सरुवामा चलखेल, आइजीपीले खटाए पीए जस्ता शीर्षकमा प्रकाशित समाचारप्रति सशस्त्र प्रहरी बल, नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले खुला प्रतिस्पर्धाबाट पारदर्शीरुपमा कन्सर्टिना वायर खरिद गर्नका लागि विद्युतीय खरिद प्रणालीको अवलम्बन गरी प्रचलित ऐन नियमले तोकेको विधि प्रक्रिया अनुसार मूल्याङ्कन गरी श्री माटर ट्रेडिङ कम्पनी प्रा.लि. ले प्रस्तााव गरेको बोलपत्र स्वीकृत गरी मालसामान समेत आपूर्ति भइरहेको जानकारी गराइन्छ ।
सशस्त्रका प्रहरी कर्मचारीले अवकाश पश्चापत प्रचलित कानुनको परिधिभित्र रही ब्यापार ब्यावसाय गर्ने अधिकार भएतापनि समाचारमा उल्लेख भए बमोजिम प्रधान कार्यालयले मालसामान आपूर्ति गर्नका लागि पूर्व डीआईजी चिरञ्जीवी अधिकारीको नाममा रहेको फर्म र कम्पनीसँग आपूर्तिका लागि कुनै पनि प्रकारको खरिद सम्झौता नगरेकाले समाचारमा उल्लेख भएको विवरण पूर्णरुपमा झुट्टा हो ।
मातहत इकाईहरुमा हुने खरिद कार्यमा सम्वन्धित इकाईका कर्मचारीहरु नै जिम्मेवार हुने र सो सम्वन्धमा कुनै किसिमको निवेदन प्रधान कार्यालयलाई प्राप्त नभएको तथा कन्सर्टिना वायर खरिद गर्नका लागी कुनै पनि बजेट टुक्र्याएर मातहत कार्यालयमा रकमानान्तर नगरिएको समेत स्पष्ट पारिएको छ ।
सशस्त्र प्रहरी कर्मचारीलाई ट्रयाकसुट खरिद गर्नका लागि चालु आर्थिक बर्षको बजेट कार्यक्रममा नरहेको र समाचारमा उल्लेख भए अनुसार ३७ हजार जोर ट्रयाकसुट खरिद गर्नका लागि कुनै खरिद सम्झौता नभएको ।
सशस्त्रका प्रहरी कर्मचारीलाई तालिम दौरानमा आवश्यक वेभ ईक्युमेन्टी सेट खरिद गर्नका लागि विगत दुई आर्थिक बर्षहरुमा बोलपत्र आह्वान गरिएता पनि कुनै पनि बोलपत्र छनौट नभई बोलपत्र रद्द भएकोमा चालु आ.व.मा समेत बोलपत्र आह्वान गरिएकोमा कुनै पनि बोलपत्र दर्ता नभएको कारणले पुनः बोलपत्र आह्वान गरिएकोमा कुनै पनि बोलपत्र सारभूतरुपमा प्रभावकारी
नभएकाले रद्द भएको ।
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले विगत तीन आर्थिक वर्षहरुका सम्पन्न गरेको खरिद कार्यको लेखापरीक्षणमा समेत कानुनसम्मत देखिएकाले शून्य बेरुजु कायम भई सम्बन्धित निकायवाट खरिद कार्यमा संलग्न कर्मचारीहरु पुरस्कृत समेत भएको ।
सशस्त्र प्रहरी बल कल्याणकारी सेवा केन्द्रले तोकेको भाडादरमा इच्छुक व्यक्ति तथा फर्मलाई उपलब्ध सटर भाडामा दिने नीति अनुसार फिटवेल गार्मेन्टसँग दुई पक्षीय सम्झौता गरी सटर भाडामा दिएको समेत स्पष्ट पारिएको छ ।
सशस्त्र प्रहरी वल¸ नेपाल सदैव मुलुक र नागरीकको सुरक्षा तथा उद्दारमा अहोरात्र खटिई सुरक्षाको प्रत्याभूति दिन सफल भएको छ । सीमित श्रोत साधनका वावजुद सशस्त्र वल¸ नेपालका कर्मचारीहरुलाई प्रभावकारी रुपमा परिचालन गर्नका लागी आवश्यक वन्दोवस्तीका मालसामानहरु आपूर्ति गर्नका लागि प्रचलित कानुनको परिधिभित्र रहेर खरिद कार्यलाई प्रतिस्पर्धा र पारदर्शी रुपमा सम्पन्न गर्न सदैव कटिवद्ध रहेको छ ।
त्यसैगरी सरकार परिवर्तनलगत्तै गण र गुल्मका कमाण्डरहरुको सरुवामा चलखेल भइरहेको तथा लेखा अधिकृत लेखापालहरुको सरुवामा समेत बोलकबोल भइरहेको जसले बढी दररेट बुझाउँछ उसलाई आकर्षक गण र गुल्म सरुवा गर्ने मोलतोल भइरहेको, गृहमन्त्री निकट व्यक्तिको नाम लिएर सरुवामा असुली गर्न थालेको तथा मन्त्रीलाई बुझाउनुपर्छ भनेर गण, गुल्म र लेखाको सरुवामा दररेट तोक्दै पीए र विचौलिया परिचालन भन्ने कुरा पूर्णरुपमा काल्पनिक र संगठनलाई नै बद्ना्म गराउने नियतले प्रकाशित भएको देखिन्छ । यस्ता काल्पनिक कुराहरुबाट सचेत रहन सरोकालवाला तथा आम नागरिकहरुमा सशस्त्र प्रहरी बल, नेपाल हार्दिक अनुरोध गर्दछ ।
तसर्थ तपाईको अनलाईन न्यूज पोर्टलमा विभिन्न समयमा माथि उल्लेखित विषयहरुमा प्रकाशित समाचार वास्तविक तथ्य भन्दा बाहिर गई प्रकाशित भएको तथा उक्त प्रकाशित समाचारमा समाचार पुष्टि गराउनेतर्फ कुनै ध्यान नदिई प्रकाशित भएको हुदाँ सो समाचारको खण्डन गरिएको छ ।
राज्यले सुम्पिएको दायित्व निर्वाहमा व्यवसायिक एवं कुशलतापूर्वक
जिम्मेवारी निर्वाह गरिरहेको यस संगठनका बारेमा तथ्य भन्दा बाहिर गई प्रकाशित भएको उक्त समाचारले पाठक वर्गमा भ्रम सिर्जना गर्ने हुँदा सो समाचारको खण्डन प्रकाशित गरिदिनुहुन हार्दिक अनुरोध गरिएको छ ।