बारा । जिल्लावासीको जनधनको सुरक्षा दिने र समाजमा गरिने अबैध कारोबारलाई रोक्ने जिम्मेवारी लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिलिपसिंह देउवा र प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालकै संरक्षणमा जुवाको खाल सञ्चालन हुँदैआएको छ ।
एसपी देउवा र सीडीओ कटुवालकै संरक्षणमा प्रसौनी गाउँपालिका–५ प्रस्टोका गाउँमा जुवाको खाल सञ्चालन गरिदै आइएको हो ।
जुवा खेलाउनकै लागि प्रस्टोकाका तीन चार स्थानमा घर समेत निर्माण गरिएर ठाउँ ठाउँ परिवर्तन गरी जुवाको खाल सञ्चालन गर्दा गाउँ नै अपराधिक गतिबिधिको केन्द्र बनेको प्रस्टोकाका स्थानीयहरुले आरोप लगाएका छन् ।
जुवाको खाल सञ्चालन गर्नका लागि जिल्लाका सुरक्षा निकायहरुलाई नेपाली कांग्रेस बाराका एक प्रदेश सभापतिले महिनावारी दररेट बुझाउने गरेको प्रस्टोका गाउँका एक एमालेका स्थानीय नेताले बताएका छन् ।
काँग्रेस नेताले सुरक्षाकर्मीहरुलाई महिनवारी रकम कबोल गरेपछि प्रटोकाका रबिन्द्र साह, पन्नालाल साह लगायत चार–पाँच जनाको समूहले जुवाको खाल सञ्चालन गराइ रहेको ती नेताले बताएका छन् ।
गाउँमा रहेका मधेशवादी र काँग्रेसका केही स्थानीय नेताहरुलाई समेत महिनावारीको भाग पुग्ने गरेको र एमालेका नेताहरुलाई समेत महिनवारी दिन आउँदा आफूले गाली गरेर फर्काउने गरेको उनले बताए ।
प्रस्टोकामा सञ्चालन गरिदै आएको जुवाको खालसम्म जुवा खेल्न आउनेलाई पु¥याउनका लािग कलैया–वीरगन्ज सडक खण्डको भलुही चौक र कलैया नितनपुर सडक खण्डको बन्जरिया गाउँको पश्चिम हनुमान मन्दिरमा सहयोगीहरु खटाइने गरिएको र ठाउँ ठाउँमा खटाइएका मानिसहरुको सम्पर्कमा आउनेहरुलाई जुवाको खालसम्म पुब्याउने गरिएको छ ।
जुवाको खाल सञ्चालन गराएकाहरुले दैनिक चारदेखि पाँच लाखसम्म कमाउने समेत गरेको प्रस्टोकाका स्थानीयहरुले बताएका छन् ।
जुवा खेल्नेहरुलाई संरक्षण गर्नका लागि प्रदेश प्रहरी प्रमुखलाई दुई लाख, बाराका प्रहरी प्रमुखलाई तीन लाख, जिल्ला प्रशासन कार्यायलको प्रमुखलाई दुई लाख, सशस्त्र प्रहरी उपरीक्षकलाई एक लाख महिनवारी समेत बाधिएर जुवा सञ्चालन गराइएको जुवा खेलाउनेहरुले गाउँमा धाक लगाउँदै हिडेका स्थानीयले गुनासो गरेका छन् ।
प्रस्टोकामा भैरहेको जुवा खेल्न वीरगन्ज, हेटौंडा, काठमाडौँ र भारतको रक्सौल, आदापुर लगाएतको बिभिन्न स्थानबाट जुवाडेहरु दैनिक रुपमा आउने गरेका छन् ।
प्रस्टोका गाउँ भन्दा उत्तर र नयाँ खोलिएको हाँस फार्म भन्दा पूर्व र दक्षिणमा रहेको बाँसघारीमा दिउँसो १ बजेदेखि बेलुका सात बजेसम्म जुवाको खाल चल्ने गरेको छ ।
बाराका प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले आफू जिल्लामा आउनुभन्दा पहिला देखि नै प्रस्टोकामा जुवा खेलाउने काम गरिएको र जुवाडेहरुलाई पक्राउ गर्न प्रहरी पठाउँदा उनीहरु फेला नपर्ने गरेको दाबी गरेका छन ्।
प्रहरी उपरीक्षक देउवाले शुरु शुरुमा जुवा खेललाई रोक्न प्रहरी पठाएर जुवा खेलाउनेहरुलाई तर्साएर उनीहरुबाट बढी महिनवारी असुली गर्न काम समेत शुरु गरेका छन् ।