Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सेनाको बोलपत्रमा ठेकेदारको बदमासीः स्वदेशी उत्पादन बुझाउँछु भनेर विदेशबाट चुस्ता झिकाए


    शुक्रबार, फाल्गुन ६ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • ७ मिनेट पाठ
  • काठमाडौं । नेपालको सार्वजनिक खरिद ऐन नियमले सरकारी निकायबाट हुने बोलपत्रमा स्वदेशी उत्पादन आपूर्ति गर्ने बोलपत्रदातालाई १५ प्रतिशत ग्राह्यता दिने ब्यवस्था गरेको छ । खरिद ऐनले स्वदेशी उत्पादन आपूर्ति गर्ने बोलपत्रदाताको अरु कम्पनीले भन्दा १५ प्रतिशत बढी दरमा टेण्डर प्रस्ताव पेश गरे पनि स्वीकृत गर्नुपर्ने कानुनी प्रावधान राखेको छ । तर सेनामा काम गर्दैआएका केही ठेकेदारले स्वदेशी उत्पादन आपूर्ति गर्छु भनेर १५ प्रतिशत सहुलियतमा ठेक्का लिने तर विदेशबाट ल्याउँदै बुझाउने गरेको खुलेको छ ।

    ठेकेदारले नेपाली सेनालाई नै स्वदेशी कपडा उत्पादन गरी आपूर्ति गर्छु भनेर ठेक्का लिई चीनबाट उत्पादित कपडा दिएको पाइएको छ । स्वदेशी उत्पादन दिने भनेर १५ प्रतिशत सुविधा लिएर सेनाबाट ठेक्का लिई चीनबाट उत्पादन गर्दै ल्याउने गरेका ठेकेदारको पोल तातोपानी भन्सार कार्यालयले २०७८ पुसमा २९ हजार मिटर क्यामोफ्ल्याग चुस्ता बरामद गरेपछि खुलेको हो । सरकारले स्वदेशी उद्योगलाई टेवा दिनका लागि खरिद ऐनमा राखेको प्रावधानको चरम दुरुपयोग भएको उदाहरण सेनाले चालु आर्थिक बर्षमा खरिद गर्न लागेको ५ लाख मिटर क्यामोफ्ल्याग चुस्ता प्रकरणले उजागर गरेको छ ।

    नेपाली सेनाले आर्थिक बर्ष २०७८–०७९ का लागि आह्वान गरेको ५ लाख मिटर क्यामोफ्ल्याग चुस्ता कपडाको टेण्डरमा स्वदेशमै उत्पादन गर्ने भनी जयसलिना र एडी सप्लायर्स जेभीले ठेक्का पाएका थिए । कोहिनुर टेक्सटाइल इन्ड्रष्ट्रिज प्रालि बीरगंजबाट क्यामोफ्ल्याग चुस्ता कपडा उत्पादन गरी आपूर्ति गर्नेगरी सेनासँग सम्झौता गरेको थियो । सेनाका उपरथी तहका अधिकृतको नेतृत्वको ११ सदस्यीय टीमलाई जयसलिना र एडी सप्लायर्स जेभीले कोहिनुरको उद्योगसमेत निरीक्षण गराएका थिए । अशोक टिवडेवाल संचालक रहेको कोहिनुर टेक्सटाइल उद्योग निरीक्षण गरिसकेपछि जयसलिना र एडीले सामान आपूर्तिको ठेक्का पाएका थिए ।

    कोहिनुरका संचालक टिवडेवालसँग जयसलिना र एडी सप्लायर्सले चुस्ता उत्पादनको सम्झौता गरेको पत्र पनि पेश गरिएको थियो । तर जयसलिनाका संचालक ज्ञानेन्द्र बस्नेत र एडी सप्लायर्सका झम्कनाथ भट्टले सम्झौता अनुसार बीरगंजको कोहिनुरमा होइन, चीनको सिचुवान प्राप्तको सान्चाउ भन्ने सहरमा क्यामोफ्ल्याग चुस्ता कपडा उत्पादन गर्नका लागि दिए । 

    ठेक्कामा स्वदेशी उद्योगबाट उत्पादित कपडा आपूर्ति गर्ने भने पनि चीनबाट ल्याउने कामको नेतृत्व झम्कनाथ भट्टले लिएका छन् । गतबर्षको सेनाको क्यामोफ्ल्याग चुस्ता कपडाको ठेक्का पनि भट्टले नै लिएका थिए । उनले गतबर्ष पनि चुस्ताको चुस्ताको ठेक्का पाएका र चीनबाटै ल्याएका थिए । यो बर्ष जयसलिनाका ज्ञानेन्द्र बस्नेत र कोहिनुर टेक्सटाइलका टिवडेवाल जोडिन पुगे । सेनालाई स्वदेशी उद्योगबाट ल्याउने भनेर झुक्याउने काम गरेका भट्ट र बस्नेतले अहिले कोरोनाको बहाना बनाउँदै चीनमा उत्पादन भइसकेको क्यामोफ्ल्याग ल्याउनका लागि २०७८ माघ १६ मा निवेदन दिएका छन् । उनीहरुले चीनको उत्पादन उद्योगको पत्र समेत राखी सेनामा निवेदन दिएका छन् । 

    संभाररथी विभाग, स्वदेश उपशाखा, सैनिक सामग्री प्राप्ती निर्देशनालयलाई सम्बोधन गरी ठेकेदार जयसलिना र एडी सप्लायर्स जेभीले लेखेको निवेदनमा क्यामोफ्ल्याग चुस्ता कपडा २०७८ फागुन १७ गतेभित्रमा बुझाउनेगरी करार सम्झौता गरिएको उल्लेख छ ।

    सेनालाई आपूर्तिकर्ता कम्पनी जयसलिना र एडी सप्लायर्सले लेखेको निवेदनमा उल्लेख छ–‘विश्वभर फैलिएको कोरोनाको तेस्रो लहरका कारण समयावधिभित्रमा उक्त परिमाणको चुस्ता उत्पादन गरी उपलब्ध गराउन नसकिने भनी लिखित पत्र प्राप्त भएकाले त्यस विभागलाई आवश्यक कपडा समयावधिभित्र नेपालमै सम्पूर्ण परिमाण उत्पादन गरी बुझाउन सक्ने अवस्था नदेखिएकाले उत्पादन हुन नसकेको बाँकी परिमाण यस जेभीले बाध्य भई बैकल्पिक उपाय अपनाउनुपर्ने र चाँडोभन्दा चाँडो क्यामोफ्ल्याग चुस्ता कपडा बुझाउनका लागि END USER CERTIFICATE उपलब्ध गराई कार्य सम्पादनमा सहयोग गरिदिनुहुन अनुरोध गर्दछ्ु । साथै उत्पादन उद्योगको पत्र संलग्न गरिएको छ ।’ निवेदनमा बैकल्पिक उपाय भनेको चीनबाट ल्याउन पाउँ भनेका हुन् । 

    सेनाको खरिद हेर्ने संभाररथी विभागका प्रमुख ताराध्वज पाण्डेले जयसलिना र एडी सप्लायर्सको निवेदन अस्वीकृत गरेपछि उनीहरु शक्तिकेन्द्र गुहार्दै सेनापति प्रभुराम शर्मालाई भेट्ने प्रयासमा लागे । स्रोतका अनुसार शर्माले भेट नदिएपछि चितवन घर भएका उनका एक नजिकका आफन्त मार्फत् दबाब दिएर उक्त पत्र स्वीकृत गराउने चलखेलमा लागेका छन् । तर सेनापति शर्मा विवादमा आउन नचाहने भएकाले सेनालाई झुक्याउने ठेकेदारको प्रयासमा साथ दिने कम संभावना छ ।  

    यसरी नेपाली सेनासहित अरु सुरक्षा निकायमा समेत बोलपत्रमा भाग लिने जयसलिना र एडी सप्लायर्सले स्वदेशी उद्योगबाट उत्पादित सामान बुझाउने भन्दै झुक्याउँदै आएकोबारेमा छानबिन गरी सरोकारवाला निकायले कारबाही गर्नुपर्ने हो । तर सेना र सुरक्षा निकायका खरिदका अधिकारीलाई प्रभावमा पारी कोरोनाको बहाना बनाई उत्पादन गर्न नभ्याएको भन्दै चीनबाट ल्याउन लागेका छन् । जबकि कोरोनामा सबै उद्योग निर्वाध रुपमा चलाउने बातायरण सरकारले दिएको छ । झन् कोरोनाको तेस्रो लहर(ओमिक्रोन)ले उद्योगहरुको उत्पादनमा कुनै असर नपारेको अवस्थामा कोहिनुरले किन उत्पादन गर्न सकेन ? १५ प्रतिशत सहुलियत लिनका लागि स्वदेशी उद्योगमा उत्पादिन कपडा बुझाउँछु भनी ठेक्का लिने तर चीन वा भारतबाट उत्पादन गरी ल्याउने गरेको खुलासा भएको छ ।

    सैनिक प्रवक्ता नारायण सिलवालले ठेक्काको बिषय भएकाले संभाररथी विभागमा बुझेर मात्र बताउन सकिने प्रतिक्रिया दिए । उनले भने–‘तपाईले माग्न खोजेको कुरा लेखेर सेनाको इमेलमा पठाउनुस्, म संभाररथी विभागमार्फत् जवाफ पठाउँछु ।’

    स्वदेशी उद्योगका उत्पादन बुझाउँछु भनेर ठेक्का लिने, कोरोनाको बहानामा चीनबाट ल्याउन पाउँ भन्दै सेनाको संभाररथी विभागमा निवेदन दिएकोबारेमा जयसलिनाका संचालक ज्ञानेन्द्र बस्नेतले भने–चीनबाट ल्याउने भनेको होइन । स्वदेशी उद्योगमा उत्पादन गर्न सकिएन, बैकल्पिक उपाय अपनाउने भनेको के हो भनेर सोध्दा उनले जवाफ दिन सकेनन् । चीनबाटै ल्याउनका लागि एण्ड युजर सर्टिफिकेट समेत जयसलिना र एडी सप्लायर्सको निवेदनम माग गरिएको छ ।

     चीनबाट ३७ हजार मिटर क्यामोफ्ल्याग चुस्ता ल्याएर पहिलो खेप सेनालाई बुझाइसकेका ठेकेदार बस्नेत र भट््टले दोस्रो पटक पुसको दोस्रो साता २९ हजार मिटर ल्याउने क्रममा तातोपानी भन्सारले बरामद गर्यो । तातोपानी भन्सारका प्रमुख भन्सार प्रशासक नारद गौतम(हाल सहसचिव (बढुवा)लाई सेनाको कपडा भनेर छुटाउन खोजे पनि उनले सैनिक हेडक्वार्टरकै पत्र मागे । सेनाले आसयपत्र दिंदै स्वदेशी उद्योगबाट उत्पादित कपडा भनेकाले आसयपत्र दिनसकेन । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार