Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • नेपाली जनतालाई पत्तै नदिइकन एमसीसी सम्झौता भयो- झलनाथ खनाल


    बुधबार, फाल्गुन ४ २०७८
    665
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले नेपाली जनतालाई पत्तै नदिइकन एमसीसी सम्झौता भएको टिप्पणी गरेका छन् । 

    प्रतिनिधिसभाको बुधबारको बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले दस्तावेजहरूको राम्रोसँग अध्ययन नगरिकन सम्झौता भएको बताए । एमसीसी अध्ययन कार्यदलका संयोजकसमेत रहेका खनालका अनुसार एमसीसी नेपाली जनताको सर्वोपरी हितविपरीत छ । 

    ‘नेपालको हितलाई सर्वोपरी राखेर यो एमसीसी सम्झौता सुरुमै भएन । नेपाली जनतालाई थाहा नदिइकन, राम्ररी अध्ययन नगरिकन, के गर्दा राष्ट्रको हित हुन्छ भन्ने बुझ्दा पनि नबुझिकन र ती दस्तावेजहरू राम्रोसँग अध्ययन पनि नगरिकन नेपाली जनतालाई गुमराहमा राखेर सम्झौता गरियो । यो सम्झौता राष्ट्रघाती छ, संशोधन नगरिकन पास गर्न सकिँदैन’, खनालले पत्रकारहरूसँग संसद् बैठकपछि भने । 

    उनले सम्झौताका केही प्रावधानहरू राष्ट्रघाती भएको जिकिर गरे । ती प्रावधानहरू संशोधन हुनुपर्ने र त्यसपछि मात्र पारित गर्न सकिने धारणा राखेका छन् । 

    तत्कालीन नेकपा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार छँदा खनाल नेतृत्वमा एमसीसी अध्ययन कार्यदल गठन गरेको थियो । कार्यदलले प्रधानमन्त्री शेरबहादुर देउवालाई अध्ययन प्रतिवेदन बुझाइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार