Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेको ‘काउन्टर महाभियोग’ तयारी, सत्तापक्षको ‘मुभ’ हेरेर कदम चालिने


    मंगलबार, फाल्गुन ३ २०७८
    810
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि रुष्ट बनेको एमालेले त्यसको प्रतिवादमा ‘अनुकूल परिस्थिति हेरेर’ महाभियोग अघि बढाउने भएको छ । एमालेले संसदीय दल बैठकमा सोमबार प्रत्येक सांसदलाई ६ वटा खाली कागजमा हस्ताक्षर गराएर तयारी अवस्थामा राखेको छ ।

    आइतबार साँझ बसेको सचिवालय र सोमबारको संसदीय दल बैठकले सत्तापक्षको कदमको सदन, सडक र कानुनी क्षेत्रबाट प्रतिवाद गर्ने निर्णय गरेको थियो । पहिलो चरणमा कामु प्रधानन्यायाधीश दीपक कार्कीविरुद्ध महाभियोग अघि बढाउने सम्भावना रहेको एमालेका एक नेताले दाबी गरे । ‘पहिलो चरणमा न्यायाधीश कार्कीविरुद्ध महाभियोग दर्ता गर्ने तयारी देखिन्छ,’ ती नेताको भनाइ छ, ‘अरू हस्ताक्षर परिस्थिति हेरेर प्रयोग गरिनेछ ।’

    कार्कीले सत्ता गठबन्धनसँग हिमचिम बढाएको आरोप एमालेले लगाएको छ । परमादेश जारी गर्ने सर्वोच्चका चारै न्यायाधीश र सभामुखविरुद्ध ‘काउन्टर महाभियोग’ अघि बढाउने उसको तयारी छ । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोग दर्ता गराउँदा आउन सक्ने कानुनी जटिलताबारे एमालेले कानुनविद्सँग परामर्श गरिरहेको छ । संसदीय दल बैठकले अन्तिम निर्णय लिने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । ‘हामी स्ट्यान्डबाइ छौं तर अझै मसिनो गरी केलाउने काम हुँदै छ किनभने समय अलिकति पनि अपरिपक्व देखिन भएन, कसरी गर्ने, क–कसलाई ल्याउने भन्नेबारे सोचविचार गर्दै छौं । समग्र विश्लेषण गर्दा महाभियोग दर्ता होला,’ एक पदाधिकारीले भने । कान्तिपुर दैनिकमा खबर छ। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार