काठमाडौं । सरकारले यो बर्षको शैक्षिकसत्र चैतको अन्तसम्म सकाउने निर्णय गरेको छ । गएको असारबाट सुरु भएको शैक्षिकसत्र आउँदो चैतको अन्तसम्ममा सकाउने र बैशाखदेखि नयाँ शैक्षिकसत्र सुरु गर्ने भएको छ ।
२०७८ असारमा सुरु भएको शैक्षिकसत्र आउँदो बैशाखमा सकिने शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए । आज शिक्षा पत्रकार सञ्जाल (इजोन) ले दरवार हाईस्कूल रानीपोखरीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शर्माले देशभरिका सबै बिद्यालयले चैतको अन्तसम्म कोर्स सकाउने भएकाले नयाँ शैक्षिकसत्र बैशाखदेखि नै सुरु हुने बताएका छन् । कार्यक्रममा उनले निर्वाचनको समयमा केही दिन पढाइमा बाधा भए पनि निर्वाचनपछि नियमित हुने बताएका छन् ।
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले चैतभरि सबै स्कूलले पढाइ सक्ने र बैशाखमा परीक्षा गर्ने र जेठदेखि नयाँ शैक्षिकसत्र सुरु गर्दा बैज्ञानिक हुने बताएका छन् ।
निजी तथा आवासीय बिद्यालय अर्गनाइजेसन (प्याब्सन)का केन्द्रीय उपाध्यक्ष कृष्ण अधिकारीले निजी बिद्यालयले बैकल्पिक माध्यम अनलाइन तथा भौतिक कक्षाबाट लगभग कोर्स सकाइसकेकाले बैशाखदेखि नै नयाँ शैक्षिकसत्र सुरु गर्दा पनि अप्ठारो नहुने बताए ।
दरवार हाईस्कूलकी प्रधानाध्यापक शारदा पौडेलले अनलाइन कक्षामा ६० प्रतिशतमात्र बिद्यार्थी हुने गरेको र बिद्यार्थीलाई पढाइ बाहेक अन्य क्रियाकालप कोभिडका कारणले गराउन नसकेको बताएकी छन् ।
प्रगति शिक्षा सदन ललितपुरका प्रधानाध्यापक सूर्यप्रसाद घिमिरेले चैतभरिमा पढाइ सकाउने र बैशाखको पहिलो हप्ता एसईई अगाडि परीक्षा सकाउनुपर्ने बताए ।
अन्तरक्रिया कार्यक्रममा शिक्षा पत्रकार सञ्जाल (इजोन) का अध्यक्ष प्रकृति अधिकारीले शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयले निर्वाचन आयोगसँग छलफल गरेर निर्वाचनको लागि मतदानकेन्द्र स्कूल बाहेकका सार्वजनिक स्थान वा अन्य सरकारी कार्यलयमा राख्नुपर्ने बताएका थिए । इजोनले गत माघ २७ गते कक्षा ११ र १२ तथा एसईई परीक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको थियो ।