Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पाँच दिनदेखि हिउँमा फसेका नागरिक सकुशल घर फर्किए


    बुधबार, माघ २६ २०७८
    790
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जुम्ला । जुम्ला तातोपानी गाउँपालिका-८ का ३४ जना नागरिक पाँच दिनपछि सकुशल घर फर्किएका छन् । हिउँमा फसेका सबै नागरिक जिल्ला प्रशासन कार्यालय, तातोपानी गाउँपालिका र स्थानीयको समन्वयमा नागरिकलाई  सकुशल घर ल्याएका हुन् ।

    यही माघ २१ गते भएको भारी हिमपातका कारण गाग्रा पाटनमा सेतो चिनी (खिरौला) संकलन गर्न गएका तातोपानी-८ टोप्लाका ३४ जना नागरिक घर फर्किन नसकेर हिउँमा फसेका थिए । 

    प्रशासनको पहल, तातोपानी गाउँपालिकाको समन्वय तथा मुख्यमन्त्री र कानुन मन्त्रालयको सहयोगमा हिउँमा फसेका नागरिकको राहत उद्धारका लागि हेलिकप्टर पठाइएको थियो । बाक्लो हिउँ जमेकोले हेलिकप्टर अवतरण हुन नसकेपछि झण्डै २ क्विइन्टल खाद्यान्न राहत फालेर उद्धार टोली फर्किएको थियो । 

    त्यस्तै मंगलबार सुरक्षा निकाय, प्रशासन, तातोपानी गाउँपालिकाको समन्वयमा हिउँमा फसेका नागरिक सहित पाटनमा रहेका सयौँ भेडाको समेत सकुशल उद्धार गरिएको प्रशासनले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । 

    जुम्लाकी प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले हिउँमा फसेका नागरिक र उनीहरूका भेडाको सकुशल उद्धार गरिएको छ । उनका अनुसार ३६ जना मध्य २ जना नागरिक २२ गते नै घर फर्किसकेका थिए ।
     
    जडीबुटी संकलनका क्रममा बाक्लो हिउँ जमेर नागरिक फसेपछि प्रदेश सरकार, प्रहरी प्रशासन र तातोपानीले सक्रियता पूर्वक उद्धार गरेको हो ।

    तातोपानी गाउँपालिका-८ को गाग्रो पाटनको एडि ओडार, खोटी सल्ला ओडार र गाग्रो ओडारमा बसेका नागरिकको उद्धार गरिएको तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले बताए ।  

    त्यस्तै, सोही हिमपातका कारण  पाटनबाट फर्किने क्रममै दुई जनाको मृत्यु भएको थियो । गाग्रा पाटनमा सेतो चिनी (खिरौला) जडिबुटी संकलन गर्न गएका तातोपानी गाउँपालिका तातोपानी-८ की महिला ३७ वर्षीया देवी शाही  र तातोपानी-७ बारगाउँका वर्ष ४६ का मुन रावतको मृत्यु भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार