काठमाडौं । मलेसिया कामदार पठाउन २५ वटा म्यानपावरको सिन्डिकेट बनाउने खेल अन्तिम चरणमा पुगेको छ । म्यानपावर बर्गिकरणको कुरा पनि यही सिन्डिकेट लागू गराउने रणनीति अन्तर्गत अगाडि ल्याइएको छ । मलेसियामा बार्षिक १ लाखदेखि २ लाखसम्म नेपाली कामदारको माग छ । न्यूनतम १ लाख ५० हजार कामदारबाट प्रतिब्यक्ति २ लाखका दरले म्यानपावरहरुले शुल्क लिंदा पनि ३० अर्ब रुपैयाँ हुन आउँछ ।
३० अर्बको कारोबार गर्न २५ वटामात्र म्यानपावरको सिन्डिकेट बनाउँदा एउटाको म्यानपावरको भागमा १२ करोड भन्दा बढी बार्षिक आम्दानी हुने भएकाले कैलाश खड्का र अमिनहरु अहिले शक्तिकेन्द्रमा यो निर्णय गराउन लागेका छन् । म्यानपावर बर्गीकरणको कुरा पनि सिन्डिकेटकै अर्को रुप मानिएको छ । अमिन नेपालमै बसी मलेसियाको म्यानपावरको सिन्डिकेट लागू गराउन कैलाश खड्कालाई शक्तिकेन्द्रमा परिचालन गरेका छन् । शक्तिकेन्द्रमा जति रकम खर्च गर्नुपरे पनि गर्ने आश्वासनसहित अमिनले खड्कालाई अगाडि सारेका छन् ।
अमिनले मलेसियामा कामदार पठाउन २५ वटा म्यानपावरलाई मात्र सिन्डिकेट लागू गराउने निर्णय गरेमा एकमुष्ट २ अर्बसम्म घुस शक्तिकेन्द्रमा बुझाउन समेत तयार रहेको सन्देश खड्कामार्फत् दिएका छन् । प्रतिनिधिसभा, स्थानीय र प्रदेश तीनै तहको निर्वाचन नजिक आएकाले शक्तिकेन्द्रलाई प्रभावमा पार्ने र मलेसिया रोजगारीमा सिन्डिकेट लगाउने निर्णय गराउन कैलाश खड्का लागेका छन् । उनले मलेसिया रोजगारीमा सिन्डिकेट लगाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवापत्नी डा. आरजु राणा र ज्वाई जीवन आचार्यमार्फत् माओवादी केन्द्रका अध्यक्ष पु्ष्पकमल दाहाल ‘प्रचण्ड’सँग सेटिङ मिलाइसकेको भन्दै म्यानपावर ब्यवसायीसँग अग्रिम रकम माग्न थालेका छन् । यसअघि बायोमेट्रिक स्वास्थ्य प्रणालीका नाममा ३९ वटा स्वास्थ्य संस्थालाई मात्र अनुमति दिलाउन पनि उनले आरजु राणाकै नाम लिने गरेका थिए ।
बायोमेट्रिक स्वास्थ्य प्रणालीका कारण बार्षिक ५ अर्ब ठगी गरेको आरोपमा प्रहरीले कतिपय ब्यवसायीलाई पक्राउ गर्दा मुख्य नाइके कैलाश पक्राउ परेका थिएनन् । उनलाई आरजु देउवाले संरक्षण गरेको आरोप लागेको थियो ।
मलेसिया रोजगारीको सिन्डिकेटमा पनि कैलाश खड्का आरजु देउवासँग कुरा मिलाइसकेको भन्दै म्यानपावरहरुसँग रकम असुलीमा लागेका छन् । आरजु देउवासँग सिधै पहुँच बनाएका कैलाश खड्काले जीवन आचार्यमार्फत् प्रचण्डकोमा सिन्डिकेट कायम गराउन लागेका छन् । आचार्य प्रचण्डका कान्छा ज्वाई हुन् ।
श्रममन्त्री कृष्णकुमार श्रेष्ठ(किसान) आफू प्रत्यक्ष रुपमा सिन्डिकेटको पक्षमा नदेखिए पनि सचिव एकनारायण अर्याललाई अगाडि सारेका छन् । कैलाश खड्काकै डिजाइनमा अर्याललाई श्रम मन्त्रालयमा सरुवा गरिएको बिस्तारै खुल्न थालेको छ । मलेसिया रोजगारीमा सिन्डिकेट लाउने र बार्षिक अरब घुस प्राप्त हुने प्रलोभन आरजुदेखि किसान श्रेष्ठसम्मलाई कैलाश खड्का जस्ता बिचौलियाहरुले दिइसकेको स्रोत बताउँछ । स्रोतका अनुसार कैलाश खड्का र श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालबीच होटल म्यारियटमा मलेसिया रोजगारीमा २५ वटा म्यानपावरको सिन्डिकेटलाई मात्र अनुमति दिनका लागि कानुनी छिद्र खोजी भइरहेको छ । सचिव अर्यालसँग कैलाश खड्काको सम्बन्ध तत्कालीन काठमाडौं जिल्लाको सीडीओ हुँदादेखिकै हो । ठगी आरोपमा २०७५ जेठमा फरार भएका उनलाई अर्यालले नै पक्राउ गर्नबाट जोगाई उन्मुक्ति दिने काम गरेका थिए ।
श्रम मन्त्री किसान श्रेष्ठ नेकपा समाजवादीबाट प्रतिनिधित्व गर्दछन् । नेकपा समाजवादी निकट एकीकृत बैदेशिक रोजगार ब्यवसायी संगठनका अध्यक्ष सन्तकुमार लामासहितका पदाधिकारीले मलेसिया कामदार पठाउन २५ वटा म्यानपावरको सिन्डिकेटलाई मात्र दिन खोजिएकोबारेमा बिहीबार ध्यानाकर्षण गराएको छ । मलेसिया रोजगारीमा सिन्डिकेट लगाए दुर्भाग्यपूर्ण हुने चेतावनी ब्यवसायीहरुले उनलाई दिएका थिए । मन्त्री श्रेष्ठ ब्यवसायी र मिडियासँग चर्को बिरोध गरेजस्तो गरे पनि भित्रभित्रै उनलाई पनि बिचौलियाहरुले सिन्डिकेटकै पक्षमा पारिसकेको स्रोतको दाबी गरेको छ । ब्यवसायीहरुले २ करोड धरौटी ऋण गरी राखेका छन् । सुरुमा बायोमेट्रिक स्वास्थ्य परीक्षणमा ठगी भएको भनी मलेसिया रोजगारी रोकियो, २ बर्षदेखि कोभिड–१९ का कारण रोकिएको छ । यस्तो अवस्थामा सिन्डिकेट लगाएर सरकारले सयौं ब्यवसायीलाई सडकमा ल्याउनु नहुने सुझाव मन्त्रीलाई मधुकर रिजालसहितले दिएका छन् ।
अमिन नेपालमा किन आए ?
अमिन बंगलादेशी मूलका मलेसियन हुन् । बंगलादेशमा अपराधिक गतिबिधि गरेपछि मलेसिया पलायन भएका हुन् अमिन । त्यहाँका पूर्व उपप्रधान एवम् गृहमन्त्री अहमद जाहिद हमिदीका भतिजीसँग विवाह गरेका अमिनले बंगलादेशका मन्त्री र कर्मचारीलाई प्रभावमा पारी ३० वटा म्यानपावरलाई मात्र मलेसिया कामदार पठाउनेगरी सिन्डिकेट लगाएर कुस्त लाभ लिएका उनी नेपालमा पनि त्यही गर्ने खेलमा छन् । बायोमेट्रिक स्वास्थ्य परीक्षणमा ३९ स्वास्थ्य संस्थाको सिन्डिकेट बनाएर बार्षिक ५ अर्ब मलेसिया लान सफल भएका उनले अहिले कामदार आपूर्तिमा सिन्डिकेट लगाई बार्षिक अरबौं लाभ लिने दाउमा छन् ।
अमिन जे जस्ता हर्कत पनि गर्नसक्छन् भन्ने दृष्टान्त मलेसियामा नेपाली कामदारलाई रोक लगाएको बेला उनले नेपाली पासपोर्टमा बंगालीलाई पठाउने काम समेत गरेका थिए । परराष्ट्रमन्त्री सुजाता कोइराला भएको समयमा उनका ज्वाई रुबेल चौधरीमार्फत् हजारौ बंगालीलाई नेपाली पासपोर्टमा मलेसियामा कामदारका रुपमा पठाएको आरोप अमिनमाथि छ । रुबेल चौधरी पनि बंगलादेशी नै भएकाले उनीमार्फत् सेटिङ गरी मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लागू नहुँदैका पासपोर्ट बंगलादेशीलाई दिइएको थियो । मलेसियामा बंगालीको मृत्यु भए पनि पासपोर्ट नेपाली भएकाले सब भने नेपाल आएको घटना पनि छन् ।