कैलाली । कैलालीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले सहायक वन अधिकृतलाई कालोमोसो दलेका छन् ।
विप्लवका कार्यकर्ताले कैलालीस्थित पचमुडिया सव डिभिजन कार्यालयका सहायक वन अधिकृत विश्वराज पण्डितलाई कालोमोसो दलेका हुन् ।
आफुलाई विप्लवका कार्यकर्ता बताउने समुहबाट काम नभएको भन्दै एक्कासी कालो मोसो दलेको पण्डितको भनाइ छ । उनका अनुसार केही समय अगाडि उक्त सव डिभिजनअन्तर्गत पर्ने कैलालीका सामुदायिक वनमा विप्लवका कार्यकर्ताले चन्दा असुली गरेका थिए ।
सामुदायिक वनमा आफूले तोकेको रकम चन्दा स्वरुप नदिएमा भौतिक कारबाही गर्ने धम्की दिन थालेपछि सामुदायिक वनले समूहमा निर्णय गरेर नेपाल कम्युनिष्ट पार्टीलाई चन्दा दिएको थियो ।
चन्दाबारे उक्त समिति र सञ्चारमाध्यमलाई जानकारी दिएको भन्दै आफूलाई कालोमोसो दलिएको पण्डितको भनाइ छ।