चितवन । नेपालको निर्माण विकासमा अहोरात्र खटिने निर्माण व्यवसायीहरु बेलाबेलामा चर्चामा आइरहन्छन् । कहिले निर्माण कार्य राम्रो नगरेको भनेर तानिएका छन् भने कहिले निर्माण कार्य सम्पन्न भई सक्दा पनि अरबौ रकम सम्बन्धित कार्यालयले नदिएको भनेर सरकारसँग गुहार मागिरहेका कारण चर्चामा आउने गर्दछन् ।
तर यसपटक भने गैंडा मर्दा पनि निर्माण ब्यवसायीलाई चर्चामा ल्याइएको छ । सडक डिभिजन कार्यालय भतरपुर चितवन अन्तर्गत भइरहेको (Upgrading and Improvement of Gondrang-Pulchowk Section of East west Highway ) निर्माण कार्य इन्डो–सगुन जे.भी.कम्पनीले गरिरहेको छ । उक्त स्थानमा गंैडा, भालु, बाघ, हात्ती लगायतका बन्यजन्तु प्राकृतिक रुपमा आवतजावत भइरहन्छन् । सो ठाउँमा बिश्वमा दुर्लभ एकसिंगे गैंडाको निधन भएको छ ।
निर्माण व्यवसायीले राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन नियम विपरीत हुने कुनै पनि काम नगरेको र निर्माण सम्झौता बमोजिम निर्माण कम्पनीले अनुशरण गर्नुपर्ने सम्पूर्ण सुरक्षाका मापदण्ड, उपयाहरु, सूचना र जानकारी समेतको प्रबन्ध नियमित सुपरीवेक्षण र निर्देशनमा निर्माण कार्य गरिरहेको स्थानमा एकसिंगे गैडाको निधनले तरङ्ग ल्याइदिएको छ ।
सो सन्दर्भमा निर्माण व्यवसायी निर्माण कम्पनी इन्डो—सगुन जे.भी.का प्रतिनिधि सहदेव खड्कालाई अनुसन्धानको नाममा पक्राउ पूर्जी जारी गरी पक्राउ गर्ने र आरोपित बनाई गैरकानूनी रुपमा सम्बन्धित निकायबाट कारबाही अगाडि बढाइरहेकोप्रति काठमाडौं उपत्यका निर्माण व्यवसायी संघको आपत्ति जनाएको छ ।
निर्माण क्षेत्रमा गैंडाको प्राकृतिक आवतजावतको क्रममा भएको दुःखद निधनको तथ्यलाई तोडमोड गरी निर्माण व्यवसायीउपर प्रचलित कानून बिपरीत हुने गरी अनुसन्धानको नाममा पक्राउ पूर्जी जारी गर्ने, दुःख हैरानी दिएकोमा संघले आपत्ति जनाएको हो । भौतिक पूर्वाधार निर्माण कार्यमा अहोरात्र खटिएका निर्माण व्यवसायीहरुको मनोवल गिराउने र निर्माण कार्यलाई अगाडि बढाउन हतोत्साहित गर्ने काम भएको संघले जनाएको छ ।
निर्माण स्थलमा कङ्क्रिटको नाली बनाइसकेपछि पूर्णरुपमा सेट हुनका लागि प्राविधिक रुपमा केही दिन खुल्लै राख्नुपर्ने प्रावधान रहेको हुँदा नाली नपुरिएको र सम्झौता बमोजिम कम्पनीले साइट सुरक्षाका मापदण्डमा रहेर निर्माण कार्य गरिरहेको अवस्थामा, प्राकृतिक रुपमा घटना भएको तथ्य जगजाहेर हुँदाहुँदै निर्माण व्यवसायीलाई नियोजित रुपमा सो घटनाको आरोपित बनाई झुटा लान्छना लगाई अनुसन्धानको नाममा पक्राउ पूर्जी जारी गरी पक्राउ गर्ने कार्य तथ्यहीन भएको हुँदा सो कार्य तत्काल रोक्न काठमाडौं उपत्यका निर्माण व्यवसायी संघका अध्यक्ष बालकृष्ण थापाले विज्ञप्ति मार्फत नेपाल सरकारसँग जोडदार माग गरेका छन् ।