Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नारायणहिटी संग्रहालय आर्थिक संकटमा, चिया र खाजा व्यवस्थापन गर्न समेत कठिनाई


    शुक्रबार, माघ १४ २०७८
    795
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएपछि दरबार संग्रहालय तथा गणतन्त्र स्मारकको दैनिक खर्च व्यवस्थापन ठप्प भएको छ । त्यति मात्रै होइन भइपरि आउने खर्चदेखि सामान्य चिया र खाजा व्यवस्थापन गर्न समेत समितिलाई आर्थिक संकट भएको छ ।

    कार्यालय प्रमुख नहुँदा आर्थिक संकट बेहोरिरहेका समितिमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले यो महिनाभित्र कार्यालय प्रमुखको व्यवस्था नगर्ने हो भने त्यहाँका कर्मचारीले तलबसमेत खान पाउने छैनन् । यस्तो दयनीय अवस्थामा कार्यालय कुरेर बसेका तल्लो तहका कर्मचारीले सम्बन्धित विभागका प्रमुखलाई सोध्ने गरेका छन्– ‘हाकिम साब कहिलेबाट आउनुहन्छ ? हामीले त यो महिनाको तलब खान पाउँदैनौं कि के हो ?

    पर्यटक शुल्कबाट आफैंले कमाएर खर्च गर्नेसक्ने अधिकारसहित स्थापना भएको समितिमा दुईजना मात्र उपसचिव छन् । उनीहरूलाई पनि अहिलेसम्म आर्थिक र प्रशासनिक अधिकार दिइएको छैन ।

    संग्रहालयका दुईमध्ये वरिष्ठ उपसचिव अमृत महर्जनले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘कार्यकारी निर्देशकको पद खाली भएकोले आर्थिक र प्रशासनिकलगायत अहिले सबै काम ठप्प छ । हामी हरेक दिनजसो मन्त्रालयमा पुगेर कार्यालय प्रमुखको व्यवस्था गरिदिन आग्रह गरिरहेका छौं । मन्त्रालयका उच्च अधिकारीले केही दिनमै प्रमुखको व्यवस्थापन गर्छौं भन्नुहन्छ तर हालसम्म अत्तोपत्तो छैन ।’ मन्त्रालयका सहप्रवक्ता टेकनारायण पौडेलले भने केही समयपछि कार्यालय प्रमुख पठाउने तयारी भइरहेको जानकारी दिँदै भन्नुभयो– ‘वरिष्ठ कर्मचारीलाई पठाउने तयारी गरेका छौं ।’

    बतास अर्गनाइजेसनको भगिनी संस्था बी म्यानेजमेन्टले नारायणहिटी दरबार परिसरभित्र क्यान्टिन/क्याफेटेरिया निर्माण क्रममा तोकिएको भन्दा बढी करिब १४ रोपनीसम्म जग्गा अतिक्रमण गर्दा सो संस्थामाथि कुनै कारबाही नगरेको आरोप लागेपछि पुस २७ गते कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिनुभएको थियो । नेपाल समाचारपत्र दैनिकमा खबर छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार