Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • संसदबाट संविधान संशोधन पारितः पक्षमा २ सय ५८ मत, विपक्षमा सून्य


    शनिबार, जेष्ठ ३१ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपालको संसदले दुईतीहाई भन्दा बढिले संविधान संशोधन गरेको छ । शनिबार नेपाली भूभाग लिम्पियाधुरासहित समेटिएको नयाँ राजनीतिक नक्सालाई संसदले पारित गरेको हो ।। प्रतिनिधिसभामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले संविधान संशोधनको प्रस्ताव प्रस्तुत गरेकी थिइन् । मन्त्री तुम्वाहाङ्फेले प्रस्ताव प्रस्तुत गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले मतदान प्रक्रिया अगाडि बढाएका थिए । मतदानमा संविधान संशोधनको पक्षमा २ सय ५८ जना सांसदको मत परेको छ भने विपक्षमा सून्य मत परेको छ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संविधान संशोधनको पक्षमा २ सय ५८ र विपक्षमा सून्य मत परेको घोषणा गरेका छन् । यो संख्या प्रतिनिधिसभाको तत्काल कायम संख्याको दुई तिहाईभन्दा बढी रहेको सभामुख सापकोटाले बताएका थिए । 

    २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा ४ सांसद निलम्बनमा छन् । जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले राखेको संशोधन प्रस्ताव सभामुख अग्निप्रसाद सापकोटाले अस्वीकृत गरेपछि उनी संसदबाट बाहिरिएकी थिइन् । अफ्ताव आलम कर्तब्यज्यानको आरोपमा थुनामा छन् । रेशम चौधरी पनि टीकापुर प्रकरणमा जेलमा छन् । विजय गच्छदार र हरिनारायण रौनियार भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा छन् । सभामुख अग्निप्रसाद सापकोटाले निर्णायक अवस्थामा मात्र मतदान गर्नपाउने ब्यवस्था छ । २ सय ६९ मत संविधान संशोधनको पक्षमा पर्नुृपर्ने हो । तर  ११ सांसदको मत नपरेको देखिन्छ । 

    सरकारले यसअघि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेको नक्सा जेठ ७ मा स्वीकृत गरेको थियो । लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको भूभाग समेटेर सरकारले नयाँ नक्सा जारी गरेपछि निशानछापमा नयाँ नक्शा राख्न संविधान संशोधन गर्ने बिधेयक कानुनमन्त्री तुम्बाहाङ्फेले जेठ २७ मा प्रतिनिधिसभामा पेश गरेकी थिइन् । जुन बिधेयकमा सबै सांसदको समर्थन रहेको थियो ।

    संसदमा दफाबार छलफल सकिएपछि मन्त्री तुम्बाहाङ्फेले संविधान संशोधन प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गरेकी थिइन् । मन्त्रीेले प्रस्ताव प्रस्तुत गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गरेका थिए । सभामुख सापकोटाले सांसदहरुलाई मतदानका लागि आग्रह गरेपछि सबैले आ आफ्नो आसनबाट उठेर संविधान संशोधनका पक्षमा दस्तखत गरेका थिए । सांसदहरुलाई दस्तखत गर्नमात्रै झन्डै ४५ मिनेट लागेको थियो ।

    शनिबार दिउँसो १ बजे सुरु भएको संसदमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतो, उपेन्द्र यादव, राप्रपाका राजेन्द्र लिङ्देन, मसालका दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल लगायतका सांसदहरुले संविधान संशोधन गर्ने पक्षमा धारणा राखेका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार