Nepal Face
  • आइतबार, १० साउन २०८३
  • च्यासलमा अर्पण र मार्टन अनुबन्ध


    सोमबार, कार्तिक २२ २०७८
    2.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । ललितपुरको च्यासल युथ क्लबले आगामी शहिद स्मारक ए डिभिजन लिगका लागि गोलरक्षक अर्पण कार्की र विदेशी खेलाडी शेम मार्टनलाई भित्र्याएको छ । 

    सोमबार क्लबले विज्ञप्ति जारी गर्दै गोलरक्षक अर्पण कार्की र भारतीय सेन्टर मिडफिल्डर शेम मार्टनलाई २९ कात्तिकबाट सुरु हुने लिगको लागि क्लबमा अनुबन्धन गरेको जनाएको हो । 

    ‘च्यासल युथ क्लब अर्पणलाई स्वागत गर्न पाउँदा निकै खुसी छ । अर्पण नेपालको उमेर समूहमा एक सफल कप्तान हुने समेत हुन्’, च्यासलले भनेको छ । 

    अर्पणले उमेर समूहमा नेपालको यू-१५, १९ र २३ टोलीको कप्तानी गरिसकेका छन् । अर्पणको कप्तानीमा नेपालले यू-१९ साफ च्याम्पियनसिपको उपाधि हात पारेको थियो । नेपालले १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक जित्दा टोलीका सदस्य थिए । 

    यसअघि अर्पणले घरेलु लिगमा नेपाल पुलिस क्लबबाट खेल्दै व्यावसायिक फुटबलको सुरुवात गरेका थिए । पछिल्लो समय भने अर्पणले माल्दिभ्सको जेजे स्पोर्टस् र भुटानको पारो एफसीबाट लिग खेलेका थिए । 

    च्यासलमा अर्पणको आगमनसँगै अर्का गोलरक्षक विनय श्रेष्ठ दोस्रो रोजाइमा रहेर खेल्न सक्छन् । यद्यपि, दुबै खेलाडीबीच सुरुवाती एघारमा खेल्न निकै नै प्रतिस्पर्धा हुनेछ । 

    सोमबार नै च्यासलले दक्षिण एसियाली कोटामा भारतीय शेम मार्टनलाई अनुबन्धन गरेको छ । २६ वर्षीय सेन्टर मिडफिल्डर मार्टनसँग भारतीय प्रथम डिभिजन चेन्नई सिटी फुटबल क्लबबाट खेलेको अनुभव छ । 

    यसअघि च्यासलले विकास मेराग्लीयासँगै तीन विदेशी खेलाडी पूरा गरिसकेको छ । ए डिभिजन लिगमा चार विदेशी खेलाडी खेलाउँदा एक अनिवार्य दक्षिण एसियाली खेलाडी खेलाउनु पर्नेछ । 

    यस सिजनको ए डिभिजन लिगमा च्यासलले ललितपुर डर्बीअन्तर्गत थ्रीस्टार क्लबविरुद्ध खेल्दै लिगको सुरुवात गर्नेछ । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार