खोटाङ। काठमाडौंमा निर्माण गरिने नाछिरिङ राई समुदायको रिदुम खिम (मुन्धुम घर)को थ्रिडी नक्सा सार्वजनिक गरिएको छ । काठमाडौं गोकर्णेश्वर नगरपालिकाको गोकर्ण उत्तरगयामा निर्माण गरिने रिदुम खिम (मुन्धुम घर)को थ्रिडी नक्सा नाछिरिङ राई भाषाको कक्षा तीनको पाठ्यपुस्तक विमोचन कार्यक्रमको अवसरमा सार्वजनिक गरिएको हो ।
२ करोड २८ लाख ५४ हजार ९२५ रुपैयाँको लागतमा साँढे तीन तले रिदुम खिम निर्माणको तयारी गरिएको किरात रदु नाछिरिङ साखाम केन्द्रका अध्यक्ष शकलबहादुर नाछिरिङले बताए ।
किरात नाछिरिङ राईको सामुदायिक हित, भाषा, संस्कार, संस्कृति, विकास, संरक्षण एवं प्रर्द्धनका लागि रिदुम खिम निर्माण गर्न लागिएको हो । रिदुम खिम निर्माणका लागि हालसम्म नाछिरिङ तथा गैर–नाछिरिङबाट २० लाख ३७ हजार रुपैयाँ संकलन भइसकेको छ ।
यस्तै, गोकर्णेश्वर नगरपालिकाबाट १५ लाख प्राप्त भएको छ । सोही भवन निर्माणका लागि आदिवासी जनजाति उत्थान प्रतिष्ठानबाट २० लाख सहयोगको प्रतिबद्धता जुटेको केन्द्रका अध्यक्ष नाछिरिङले बताए । चन्दा तथा सहयोग जुटाएर दुई वर्षभित्र रिदुम खिम निर्माणको काम पुरा गरिने केन्द्रले जनाएको छ । खिम निर्माणका लागि ७५ लाख ७५ हजारमा ६ आना जग्गा खरिद गरिएको थियो ।
मूल घरमा मान्दै आएको परम्परागत संस्कार–संस्कृतिलाई उपत्यकामै बसेर निरन्तरता दिने वातावरण बनाउने, जन्म, मृत्यु, वैवाहिक लगायतका संस्कार गर्ने, संसारभर छरिएर रहेका नाछिरिङ राईलाई संगठित गर्ने, नाछिरिङ राईको भाषिक, संस्कार, संस्कृतिको एकीकरण गर्नेलगायतका लक्ष्यका साथ रिदुम खिम निर्माणको अवधारणा अघि सारिएको साखामकी उपाध्यक्ष कमलकुमारी नाछिरिङले बताइन् ।
‘चुला घर (रिदुम खिम) नहुँदा धेरैले मुन्धुमी संस्कार अनुसार विवाह, जन्म संस्कार र मृत्यु संस्कार गर्न पाइरहेका छैनौं । जसले गर्दा हामी दिन प्रतिदिन अन्य धर्मको सिको गर्दै आफ्नो मौलिक संस्कारलाई बिर्सिँदै गइरहेका छौँ,’ उपाध्यक्ष नाछिरिङले भनिन्, ‘यही तथ्यलाई मध्यनजर गर्दै हाम्रो संस्थाले हाम्रो मौलिक परम्परा र संस्कारलाई निरन्तरता दिई सभ्य समुदायको परिचय दिन रिदुम खिम (मुन्धुम घर) निर्माणको तयारी थालिएको हो ।’
सोलुखुम्बुको सोताङ, महाकुलुङ गाउँपालिका र खोटाङको ऐसेलुखर्क गाउँपालिकामा नाछिरिङ राईको सघन बस्ती रहेको छ । यस बाहेक सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, भोजपुर, धनकुटा, मोरङ, सुनसरी, तेहथुम, इलाम, झापा, उदयपुर, काठमाडौँ, ललितपुर, भक्तपुर र प्रवासमा दार्जिलिङ, सिक्किम, भुटान, हङकङ, सिङ्गापुर, युके, अमेरिका, क्यानडा लगायतका देशमा समेत नाछिरिङ राईको बसोबास रहेको छ ।