काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज सुपर १२ अन्तर्गत दुई खेलहरु हुँदैछन्। जसमा चारवटै टिम दक्षिण एसियाका छन् । त्यसमा पनि भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित भिडन्त आज हुँदैछ ।
कोरोना महामारीका कारण भारतमा हुनुपर्ने विश्वकप यूएई र ओमानमा खेलाइएको हो । ओमानमा पहिलो चरणको एउटा समूहको खेल खेलाइएको थियो।
आयोजक समेत रहेको भारतले सुपर १२ मा पहिलो खेलमै पाकिस्तानसँग खेल्दै विश्वकपको सुरुआत गर्दैछ । समूह २ मा रहेका भारत र पाकिस्तानबीचको खेल राति ७:४५ बजे सुरु हुनेछ ।
भारत र पाकिस्तानबीचको क्रिकेट भिडन्तलाई एक अर्काको प्रतिष्ठासँग जोडेर समेत हेरिने गरिएको छ । सन् २०१९ को एकदिवसीय विश्वकपपछि भारत र पाकिस्तानबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो भने सन् २०१६ पछि टी–ट्वान्टी विश्वकप दुई टोली पहिलो पटक खेल्न लागेका हुन् ।
सन् २०१६ को विश्वकपमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको थियो । २०१९ को एकदिवसीय विश्वकपमा समेत भारत विजयी भएको थियो।
त्यस्तै सारजाहमा हुने अर्को खेलमा बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । श्रीलंका र बंगलादेशबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।