Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • नेपाल प्रहरीमा सात डिआईजीको दरबन्दी थप्ने तयारी, अवकाश हुन लागेका एसएसपीको भाग्य चम्किंदै


    सोमबार, कार्तिक १ २०७८
    350
    Shares
  • ५ मिनेट पाठ
  • काठमाडौं । सरकारले नेपाल प्रहरीमा पुनः डीआइजीको दरबन्दी थप्ने तयारी गरेको छ । संगठनको आवश्यकताका आधारमा भन्दा पनि ब्यक्तिको स्वार्थलाई केन्द्रविन्दुमा राखेर ७ डीआइजीको दरबन्दी थप्न लागिएको स्रोतले बताएको छ । यसअघिको खड्गप्रसाद ओली नेतृत्वको सरकारले प्रहरीका २६ दरबन्दीमध्ये १२ मात्र कायम राखी अरु कटौती गरेको थियो । पछि पुनः ५ दरबन्दी थप गरी १९ पुर्याइएको थियो ।

    ओली सरकारले कटौती गरेका ७ डीआइजीको दरबन्दी पुनः थप गर्ने तयारी सरकारले गरेको छ । जागिर अवधि २ महिना पनि बाँकी नभएका एसएसपीहरु नरबहादुर खत्री, हरिराज वाग्ले, मोहनकुमार आचार्य, नलप्रसाद उपाध्याय, पूजा सिंहहरुलाई डीआइजी बढुवा गर्नका लागि ७ वटा पद थप गर्न लागिएको छ । जुन पद थप्दा राज्यलाई मासिक मासिक १५ लाखभन्दा बढी भार पर्न जान्छ । जुन रकमले ५ वटा भन्दा बढी प्रहरी चौकी स्थापना गर्न पुग्छ । तर सत्तारुढ नेपाली कांग्रेसका नेताहरुका यी आफन्त र पहँुचवाला एसएसपीहरुलाई बढुवा गर्नका लागि राज्यलाई भार पार्नेगरी डीआइजीका दरबन्दी थप गर्न लागिएको छ ।  

     एसएसपीहरु नरबहादुर खत्री, हरिराज वाग्ले, मोहन आचार्य, पूजा सिंहहरु मंसिर अन्तिमदेखि पुस पहिलो सातासम्म अवकाश हुँदैछन् । यी कार्यक्षमताका हिसाबले पनि अब्बल मानिंदैनन् । पूजा सिंहका बिरुद्ध त काभ्रेको एसपी हुँदा सरुवा भएर जाने सिपाही र हवल्दारको टीएडीए नदिई आफैं खाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।

    डीआइजी महेशविक्रम शाहका बिरुद्ध रासन हिनामिनामा मुद्दा दायर गरेको अख्तियारले पूजा सिंहका बिरुद्ध भने अहिलेसम्म पनि पटक पटक बयान लिएर मुद्दा दर्ता गरेको छैन । उनलाई डीआइजी बढुवा गर्नका लागि गृहमन्त्री बालकृष्ण खाण नै लागेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणासम्मै पहुँच भएका डीआइजी नरबहादुर केसी खाणकै जिल्ला रुपन्देहीका हुन् । गृहमन्त्रीको जिल्लाबासी डीआइजी खत्रीकी पत्नी रुपन्देहीकी कांग्रेस नेतृ पनि हुन् । उनलाई बढुवा गर्नका लागि दरबन्दी थप्न बालुवाटार पनि लागेको छ । गृहमन्त्रीका त एसएसपी केसीका जिल्लाबासी भइहाले ।

    त्यसैगरी, एसएसपी हरिराज वाग्ले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका छोरीज्वाई भएकाले उनको पनि डीआइजी बढुवा हुने धोको पूरा गर्न दरबन्दी थप गर्न लागिएको हो । वाग्लेलाई यसअघि सहकुलबहादुर थापा एआइजी बढुवा भएपछि रिक्त सिटमा डीआइजी बढुवा गर्न ससुरा पोखरेल बालुवाटारमा धर्ना दिन पुगेका थिए । तर त्यतिबेला सौरभ राणा बरिष्ठताका आधारमा बढुवा भएका थिए । एसएसपी मोहन आचार्यले बढुवा हुनका लाागि दाङका कांग्रेस नेताहरुलाई हारगुहार गरिहेका छन् ।   

    स्रोतका अनुसार गृहमन्त्री बालकृष्ण खाणले आइजीपी शैलेश थापा क्षेत्रीलाई बोलाएर डीआइजीको दरबन्दी थप गर्न निर्देशन दिइसकेका छन् । गृहमन्त्रीको निर्देशनपछि आइजीपी थापाले मंगलबार एआइजीहरुको बैठक राखी डीआइजीको दरबन्दी थप्ने दबाब आएको बताएका थिए । गृहमन्त्रालयको डीआइजीको दरबन्दी थप गर्न दिएको निर्देशन कार्यान्वयन गर्नेबारेमा आइजीपी थापाले छलफल गर्न बैठक बोलाएको एक एआइजीले नेपालफेसलाई बताए ।

    अवकाश हुन लागेका केसीले डीआइजी बढुवा हुनकै लागि तक्मा समेत लिन सफल भएका छन् । तक्माको २ नम्बर कार्यसम्पादन मूल्यांकनमा जोड्नका लागि लिए पनि त्यो जोडिनका लागि बिभूषित हुनुपर्छ । विभूषित बैशाखमा मात्रै हुन्छ । यसअघि श्यामलाल ज्ञवालीहरुले एसएसपी बढुवाका लागि पुसमै राजपत्रमा विभूषितको नाम प्रकाशित गर्न लगाएका थिए । एसएसपी केसी पनि राजपत्रमा प्रकाशित गरी तक्माको नम्बर जोड्ने दाउमा रहेको भए पनि कानुन मन्त्रालयदेखि विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने भएकाले पुस नभई राजपत्र प्रकाशित हुन असंभव रहेको स्रोत बताउँछ । केसी, वाग्लेभन्दा ७ महिनापछिका एसएसपीहरु सन्दीप भण्डारी, उमेश जोशी, टेकप्रसाद राई, श्याम ज्ञवाली र दीपक थापा कार्यसम्पादनमा अगाडि भएकाले बढुवामा उनीहरुलाई जम्प गराउन सहज भने छैन ।

    प्रहरी निरीक्षकमा ११ चैत २०४९ मा भर्ना भएका नरबहादुर केसीहरु आइजीपी शैलेश थापा क्षेत्रीको वैकल्पिक ब्याचका एसएसपी हुन् । यही टोलीका विश्वराज पोखरेल डीआईजी भएर पनि एआईजी भइसकेका छन् । उनी आइजीपीको प्रबल  दाबेदार हुन् । 

    सन्दीप भण्डारी, उमेश जोशीहरु ५ चैत २०५१ मा प्रहरी निरीक्षकमा भर्ना भएका टोलीका हुन् ।  ७ डीआइजीका दरबन्दी थप भएमा सन्दीप भण्डारीको टोलीबाट पनि कम्तीमा ३ जना पर्ने संभावना छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार