बुटवल । रुपन्देहीको मोतिपूर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूह र प्रहरीबीच झडप हुँदा उत्पन्न स्थिति नियन्त्रण बाहिर जान सक्ने भन्दै स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले एक सूचना जारी गर्दै आइतबार ४ बजेदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका-१८ औद्योगिक करिडोरको जमिन रहेको भागसम्म लागू हुने गरी कर्फ्यु जारी गरिएको हाे ।
बुटवल औधोगिक क्षेत्रमा जग्गा कब्जा गरेर बस्नेहरुलाई हटाउन खोजेपछि झडप भएको थियो । झडपमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते भएका छन् ।
१ सय बिगाहा जग्गा सुकुम्वासीको नाममा कब्जा गरेपछि सो क्षेत्रमा सशस्त्र प्रहरीलाई स्थायी रुपमा राख्ने तयारी भइरहेको थियो ।