Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सार्वजनिक निर्माणका कामहरु दुई सिफ्टमा गर्न अर्थमन्त्री शर्माको निर्देशन


    आइतबार, असोज २४ २०७८
    405
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक निर्माणकार्यको ठेक्कासम्बन्धी कागजातमा दिउँसो र राति गरी दुई सिफ्टमा काम गर्न निर्देशन दिएका छन्।

    बजेट कार्यान्वयनका विषयमा विभिन्न निकायसँग छलफल गर्ने क्रममा अर्थ मन्त्रालयले आज आयोजना गरेको राष्ट्रिय योजना आयोगसँगको छलफलमा उनले दिनमा एक सिफ्ट मात्र काम गरेर पूँजीगत खर्च बढाउन नसकिने र पूँजीगत खर्च भएन भने आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न कठिन हुने भएकाले दुई सिफ्टमा काम गर्नुपर्नेमा जोड दिए ।

    उनले भने, ‘विकास निर्माणको काम पनि तोकिएको समयमा सम्पन्न हुँदैन । रात्रि सिफ्टमा बत्ती बालेर भए पनि काम गर्नुपर्यो, हामीले पनि बेलाबेला नसुतेरै अनुगमन गर्नुपर्यो ।’ निर्माण कम्पनीलाई उसको कार्यक्षमताभन्दा बढी सङ्ख्यामा ठेक्का दिएर पनि आयोजनाहरू अलपत्र परेको भन्दै उनले अब यससम्बन्धी कानुनमा सुधार ल्याउनुपर्ने धारणा राखे । मन्त्री शर्माले आयोजना बन्नै नसक्ने गरी न्यून कबोल गरेर ठेक्का हात पार्ने तर काम नगरेर आयोजना लथालिङ्ग पार्ने परिपाटीको समेत अन्त्य गरिने बताए ।

    बैठकमा मन्त्री शर्माले हाल बन्द रहेका सरकारी स्वामित्वका उद्योगहरू सञ्चालन गर्ने तयारी भइरहेको जानकारीसमेत दिए । अर्थ मन्त्रालयका अनुसार धागो उद्योग, कपडा उद्योग, रबर उद्योग, चुरोट कारखानालगायतका बन्द अवस्थाका उद्योग नयाँ ढाँचा बनाएर सञ्चालन गरिने छ ।

    यस्तै श्रम सहकारीहरुमार्फत रु १० करोडसम्मको सार्वजनिक निर्माणको कार्य गर्न पाउने कार्यविधि चाँडै टुङ्गो लगाएर काम शुरु गरिने उनले बताए । यसबाट देशमा थप पाँच लाख रोजगारी सिर्जना हुने बताइएको छ । उपभोक्ता समितिहरुबाट गर्नुभन्दा श्रम सहकारीहरुबाट यस्तो काम गर्नु संस्थागत हुने र वास्तविक श्रमिकहरु लाभान्वित हुने मन्त्री शर्माको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार