सर्लाही । प्रदेश २ का डीआइजी उमेश रंजितकार र सर्लाहीका एसपी सन्तोषसिंह राठौरले राखेका घुमुवा असई मनोज यादवलाई प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाएको छ । नेपालफेसले मंगलबार ‘डिआइजी र एसपीका शक्तिशाली घुमुवा, अख्तियारका पदाधिकारीको पनि संरक्षण’ शीर्षकमा समाचार प्रकाशित गरेकै दिन प्रहरी प्रधान कार्यालयले उनलाई तानेको हो ।
असई यादवलाई प्रहरी प्रधान कार्यालयमै तानिएको छ । असई यादव सर्लाहीको सबैभन्दा बढी तस्करी हुने त्रिभुवननगर सीमाचौकीका इन्चार्ज र डिआइजी र एसपीका घुमुवाका रुपमा पर्सा, बारा, महोत्तरी लगायतका जिल्लाबाट पनि अतिरिक्त असुली गर्दैआएका थिए ।
असई यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीमार्फत् प्रदेश २ मा डीआइजीदेखि एसपीसम्मलाई दबाब दिएर घुमुवाका रुपमा तस्करीको लाइन संचालन गर्दैआएको आरोप छ ।
असई यादबबाट तस्करीको लाइन पाउनेहरूमा बिजय पटेल, उमेश साह, बिजय पुकार, उमेश यादव, जयकिशोर, हाखिम, राजेश महतो, रविन चौधरी, जयकिशन यादव मुख्य छन् । राजेश महतो खैनी पानमसला, जयकिशन मोवाइलका मुख्य कारोवारी हुन् भने अरूले नुनदेखि सुनसम्मको तस्करी गर्ने गर्दछन् ।
असई यादव पाँच बर्षअघि भएको बालाजुको ५ लाख लुटपाट काण्डमा पक्राउ परेका थिए । नेपाली सेनाका अवकाशप्राप्त हवल्दार गंगा देवानलाई झूटो मुद्दा खडा गरेर १५ देखि २० लाख रुपैयाँ मागेका असई यादवको टोलीले ५ लाख लिने क्रममा अख्तियारले पक्राउ गरेको थियो । अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरे पनि लुटपाट गर्ने यादवले सफाइ पाए । सफाइ पाएपछि उनी प्रदेश २ मा घुमुवा बसी तस्करसँग कनेक्सन मिलाएर राजस्व मार्दै घुस असुलीमा तल्लीन थिए ।