काठमाडौं । कोभिड–१९ विरुद्धको खोप उत्पादक देश अमेरिका, चीन र बेलायतले मानवीय सहयोगअन्तर्गत नेपाल रेडक्रस सोसाइटीलाई निःशुल्क खोप प्रदान गर्न सुरुआत गरेका छन् । यस क्रममा सोसाइटीलाई चिनियाँ रेडक्रस सोसाइटीले एक लाख मात्रा भेरोसिल खोप प्रदान गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई सोसाइटीका पदाधिकारिले मन्त्रालयमा आयोजित कार्यक्रममा सो खोप हस्तान्तरण गरे। सो अवसरमा सोसाइटीका महामन्त्री पिताम्बर अर्याल र कार्यकारी निर्देशक उमेश ढकालले सोसाइटीका मानवीय सेवाको गतिविधिका बारेमा राज्यमन्त्री श्रेष्ठलाई सङ्क्षिप्त जानकारी दिएका थिए ।
राज्यमन्त्री श्रेष्ठले महामारी नियन्त्रणमा नेपाल रेडक्रसले सरकारलाई पु-याएको निरन्तर सहयोगप्रति धन्यवाद दिँदै अगामी चैतसम्म सबै नागरिकलाई खोप लगाउने सरकारको लक्ष्यलाई सहयोग गर्न आग्रह गरे।
नेपालका मानवीय सेवामा निरन्तर सहयोग गरिराखेका साझेदार रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) मार्फत सोसाइटीले पछिल्लो समय खोपका लागि ‘लबिङ’ (पैरबी)लाई तीव्र बनाएको थियो । अहिले पनि आइएफआरसीले ‘कोभ्याक्स’ अन्तर्गत विकासोन्मुख तथा गरीब देशलाई खोप सहयोग गर्न खोप उत्पादक तथा धनी देशलाई निरन्तर पैरबी गर्दै आएको छ ।
अमेरिकाले हालै कोभ्याक्सअन्तर्गत जनसन खोप नेपाललाई प्रदान गरेको थियो भने जापानले १६ लाख मात्रा एष्ट्राजेनेका प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।
महामन्त्री अर्यालले खोप उत्पादक देशले मानवीय सहयोगअन्तर्गत सोसाइटीलाई खोप प्रदान गर्न सुरुआत गरेको र यस क्रममा चिनियाँ रेडक्रसले एक लाख मात्रा भेरोसिल प्रदान गरेको जानकारी दिए । उनले भने, “खोप उत्पादक देशका देशीय रेडक्रसमार्फत हाम्रो पैरबी निरन्तर जारी नै छ । ती देशका सोसाइटीबाट थप सकारात्मक सन्देश आएको छ ।”
मन्त्रालयका अनुसार अहिलेसम्म ३० प्रतिशतलाई पहिलो मात्रा र २८ प्रतिशतलाई पूर्ण मात्राको कोरोनाको खोप लगाइसकिएको छ । हालसम्म ६६ लाख नौ हजार २३३ ले पहिलो र ६० लाख ३६ हजार ४०१ जनाले पूर्ण मात्रा गरी कूल एक करोड २६ लाख ४५ हजार ६३४ जनाले खोप लगाइसकेका छन् भने रुकुम पूर्व, मनाङ र मुस्ताङका सबै लक्षित समुदायले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।