भक्तपुर, १६ जेठ । भक्तपुर नगरपालिका–९ की ४२ वर्षीया महिला जनप्रतिनिधि ६ दिनमै कोरोनामुक्त भएर घर फर्किएकी छन्। उनीमा कोरोना संक्रमण पुष्टि भएपछि पाटन अस्पतालमा उपचार गराइरहेकी थिइन् ।
यही जेठ ६ गते भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र च्याम्हासिंमा गरिएको स्वाब सङ्कलनपछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा ९ गते राती आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि उनलाई १० गते बिहान उपचारका लागि ललितपुरको पाटन अस्पतालको कोभिड आईसीयू ब्लकमा भर्ना गरिएको थियो।
अस्पतालमा १४ र १५ गते पुनः गरिएको कोरोना परीक्षणको रिपोर्टमा नेगेटिभ आएपछि उनलाई बिहीबार साँझ डिस्चार्ज गरिएको छ।हाल उनी च्यामासिंस्थित घर फर्किसकेकी छिन्।
वडा महिला सदस्यलाई कोरोना पुष्टि भएपछि भक्तपुर नगरले जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मीलगायत १६८ जनाको पिसीआर परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएको थियो।
कोरोना सङ्क्रमण पुष्टि भएपछि सिल गरिएको महिला जनप्रनिधिको वस्ती यसअघि नै सिल हटाइसकिएको छ। रासस