Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ललिता निवास जग्गामा मुछिएका र ट्रेडमार्क चोरी गर्ने कैलाशचन्द्र गोयललाई तक्मा


    आइतबार, असोज ३ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । सरकारले ललिता निवासको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेका कैलाशचन्द्र गोयललाई सुकीर्तिमय राष्ट्रदीप पदकले सम्मान गर्ने भएको छ । कैलाशचन्द्र गोयल प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख निवाससँगैको सरकारी जग्गा दर्ता गर्नेमध्येका एक हुन् ।

    अख्तियारले २०७६ माघ २२ मा ललिता निवास जग्गा हिनामिनामा संलग्न १७५ जनाबिरुद्ध मुद्दा दायर गरेको थियो । १७५ मा गोयललाई ललिता निवासको जग्गा लिएकोमा मुद्दा दायर गरिएको थियो । मारवाडी सेवा समितिका अध्यक्ष समेत रहेका गोयलले ललिता निवासको करिब २५ रोपनी जग्गा दर्ता गरेका छन् । गोयल नेपालमा ब्यापार भन्दा पनि अदालतमा बिचौलियाको काम गरी अरबौंपति भएका हुन् । उनको जिल्ला, उच्च र सर्वोच्चका न्यायाधीशका बेडसम्मै पहुँच रहँदैआएको छ ।

    गुट्खा, खानेतेलदेखि अन्तर्राष्ट्रिय उत्पादनको ट्रेडमार्क उद्योग विभागमा पहिल्यै दर्ता गर्ने र उक्त कम्पनी नेपालमा लगानी गर्न आउँदा मुद्दा हालेर दुःख दिंदै अदालत सेटिङ गरी नेपालमा लगानी नै आउन नदिने मुख्य भूमिका खेल्दैआएका पात्र हुन् गोयल । उनले चर्चित जापानीज पेन्ट कम्पनी कन्साई नैरोलिकलाई नेपालमा उत्पादन गर्न आएपछि मुद्दा हालेर त्यसैगरी दुःख दिएका छन् । गोयलको रुक्मिनी केमिकल इन्डिष्ट्रिज प्रालिले कन्साईलाई नेपालमा उसको ट्रेडमार्क नै प्रयोग गर्न नदिई दुःख दिने काम गरेको छ । कन्साईले उद्योगबाट मुद्दा जिते पनि उच्च अदालत र सर्वोच्च अदालतमा मुद्दा दिएर कन्साईलाई नेपालमा लगानी गर्न आएकोमा पश्चाताप गर्ने अवस्थामा पुर्याएको छ ।

    गोयलको रुक्मिनीले कन्साई नेरोलिक चर्चित पेन्ट्स भएको र नेपालमा लगानी गर्न आउने संभावनालाई मध्यनजर गरी २०६८ सालअसार १९ गते हतार हतार ट्रेडमार्क दर्ता गरेको थियो । जब कन्साई ६ बर्षअअघि नेपालमा लगानी गर्न आयो, कैलाश गोयलले दिनुसम्म दुःख दिएर अहिलेसम्म पनि मुद्दा टुंगिएको छैन । यसरी विदेशी लगानी गर्न आउने कम्पनीलाई हतोत्साही पार्ने र आउनै नसक्ने पार्ने कार्य गोयल जस्ता ब्यवसायीभन्दा पनि बिचौलियाले गरेका छन् ।

    ललिता निवासको जग्गा गैरकानुनी रुपमा दर्ता गर्नेदेखि अन्तर्राष्ट्रिय ब्रान्डको ट्रेडमार्क चोरीमा लागेर रातारात अरबौं आर्जन गरेका तिनै बिचौलियालाई सरकारले तक्मा दिएर सम्मान गर्ने भएको हो । बिशुद्ध ब्यापार गर्नेलाई तक्मा नदिई बिचौलिया र तस्करहरुलाई दिएपछि त्यसको महत्व नै घट्दै गएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार