काठमाडौं । आइतबार रातिदेखि परेको भारी वर्षासँगै काठमाडौं उपत्यका र आसपासका क्षेत्रका नदी किनारहरुमा बाढी आएको छ।

भारी वर्षाका कारण उपत्यका भई बहने साना नदीहरुमा जलसतह बढ्ने तथा केही साना नदी–नालाको पानी सडक किनारसम्म आउन सक्ने भन्दै विभागले उच्च सतर्कता अपनाउन समेत आग्रह गरेको छ।
बाढीका कारण काठमाडौँकै शंखमुल पार्कलगायतका क्षेत्रहरु डुबानमा परेका छन् । खोला किनारका बस्ती पनि डुबानमा परेका छन् ।
बागमती र धोबिखोला आएको बाढीका कारण टेकु र बानेश्वर क्षेत्रमा बिद्युत सेवासमेत अबरुद्ध भएको छ । बाढीका कारण प्रहरीले टेकु र बानेश्वर सबस्टेशनबाट लाइन काट्न भनेकाले बत्ती बन्द गरिएको नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले जानकारी दिएका छन् ।
यता भारी वर्षाले काभ्रेको बनेपास्थित पुलबजार क्षेत्र डुबानमा परेको छ। डुबानका कारण अरनिको राजमार्गमा यातायात अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ। केही साना सवारीसाधन सडकमै डुबेको प्रहरीले बताएको छ।
यसैगरी चितवनको माडी क्षेत्रमा पनि पछिल्लो ३ घण्टामा भारी वर्षामापन भएको छ। सो क्षेत्र भई बहने रिउखोला र अन्य खहरेखोलामा आकस्मिक बाढी जानसक्ने भन्दै विभागले नदी तटीय क्षेत्र तथा डुबान हुने क्षेत्रहरुमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।