काठमाडौं । नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आज (आइतबार) हुदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह ५ः३० बजे शुरू हुनेछ।
यसअघिको पहिलो मैत्रीपूर्ण खेलमा दुवै टोलीले बराबरी खेलेका थिए। उक्त खेल १-१ गोलको बराबरीमा सकिएको थियो । जसमा नेपालका लागि अन्जन बिष्टले गोल गरेका थिए।
आइतबारको दोस्रो खेलमा दुबै टोली स्पष्ट जितको खोजीमा हुनेछन् । फिफा वरीयतामा भारत नेपालभन्दा निकै माथि छ । भारत १०५औँ स्थानमा छ भने नेपाल १६८औँ स्थानमा छ।
नेपालले हालसम्म सबै प्रतियोगितामा भारतसँग २० खेलमा प्रतिस्पर्धा गरिसकेको छ । तीमध्ये १३ खेलमा हार बेहोरेको छ भने २ खेलमा मात्र जित निकालेको छ। ५ खेल बराबरीमा सकिएको छ।
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेलेका हुन्। साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ सम्म आयोजना हुने हुँदैछ। नेपाली टोली भारतसँगको मैत्रीपूर्ण खेलपछि १६ दिनको बन्द प्रशिक्षणका लागि कतार भ्रमणमा निस्कनेछ।