Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारी वर्षाले ४ हजार ५ सय घर डुबानमा, ९ को मृत्यु, ९० हजार प्रभावित


    आइतबार, भाद्र १३ २०७८
    665
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र डुबानबाट मुलुकका विभिन्न क्षेत्रमा चार हजार पाँच सय घर डुबानमा परेको छ । डुबानमा परेकामध्ये झन्डै १० प्रतिशतमा क्षति पुगेको अनुमान गरिएको छ ।

     राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज साँझ एक विज्ञप्ति जारी गरी पछिल्लो तीन दिनमा मनसुनजन्य घटनाबाट नौ जनाको मृत्यु भएको र पाँचजना घाइते भएका जनाएको छ । उक्त अवधिमा ४२ घर पूर्ण क्षति भएको तथा सात सय ५६ जनालाई सुरक्षित स्थानमा सारिएको छ । यो वर्षाबाट ९० हजारभन्दा बढी मानिस प्रभावित भएका छन् ।

     प्राधिकरणले नेपालमा अधिकांश भेगमा वर्षा भएको र तराईको केही जिल्लामा डुबान तथा पहाडी क्षेत्रमा पहिराका घटना भइरहेको जनाएको छ । मुख्यगरी भारी वर्षाका कारण  धेरै क्षेत्रमा जनजीवन प्रभावित हुन पुगको छ । अझै १५ गतेसम्म नै वर्षाको सम्भावना भए पनि आजदेखि भने केही घट्ने अनुमान गरिएको मौसम विज्ञान विभागले जनाएको छ । आज मात्रै विषयगत क्षेत्रमा सरकारी निकाय, सहयोगी तथा सरोकारवाला निकायको बैठक बसी जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा समन्वयात्मक रुपमा अघि बढ्ने निष्कर्ष निकालिएको छ । 

     खोज, उद्धार तथा आश्रयस्थल तथा खाद्यान्न व्यवस्थापनमा स्थानीय तहसँगको समन्वयमा काम भइरहेको जानकारी गराइएको छ । खानेपानी सरसफाइ, प्राथमिक स्वास्थ्य सेवाका लागि समन्वयात्मक रुपमा अघि बढ्ने निर्णय पनि भएको छ । आवास पुनर्निर्माण तथा पुनस्र्थापनका लागि यसअघि जारी भएको कार्यविधिअनुसार अघि बढेको जनाइएको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार