काठमाडौं, ३ जेठ । बुढानीलकण्ठ नगरपालिका वडा नं.१० पञ्चकुमारी नजिकै घरमा बसोबास गर्ने एक महिलाको आरडीटी परीक्षण पोजेटिभ देखिएको छ ।
गर्भवती रहेकी उनको नियमित स्वास्थ्य जाँचको लागि नेपाल मेडिकल कलेज अत्तरखेलमा लगिएकोमा उनको स्वास्थ्य अवस्था अनुसार आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । ती महिलालाई पीसीआर परीक्षणका लागि पाटन अस्पतालमा राखिएको छ । शनिबार साँझसम्म पीसीआर परीक्षणको परिमाण आएपछि एकीन जानकारी प्राप्त हुने उनका परिवारले जानकारी दिएका छन् ।
ती महिला बसेको स्थान बूढानीलकण्ठ नगरपालिका १० का वडाध्यक्ष नवराज भट्टराई र महानगरीय प्रहरी प्रभाग कपनका प्रमुख प्रहरी निरीक्षक शेखरजंग मल्ल प्रहरी टोलीसहित उपस्थित भएका थिए । उनको परिवारका सबै सदस्यलाई रिपोर्ट नआएसम्म कतै हिंडडुल नगर्न प्रहरीले सचेत गराएको छ ।
बुढानीलकन्ठ नगरपालिकामा अहिलेसम्म कोरोना संक्रमित देखिएका छैनन् । १ महिनाअघि आरडीटी पोजेटिभ देखिएका बुनपा ९ का एक आशंकित पुरुषको पीसीआर नेगेटिभ देखिएको थियो ।