Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • डोटीमा लगातारको वर्षापछि दर्जन बढी सडक अवरुद्ध


    बिहिबार, असार १७ २०७८
    700
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । एक महिनादेखि भइरहेको लगातारको वर्षाले यहाँका कम्तीमा पनि एक दर्जन बढी ग्रामीण क्षेत्रका कच्ची सडक अवरुद्ध भएका छन् । वर्षाले ठाउँ–ठाउँमा पहिरो तथा सडक हिलाम्य भएपछि गाउँका सडकमा सवारी साधन चलाउन बन्द भएको छ । 

    कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा गरिएको निषेधाज्ञा खुकुलो गरिएसँगै जिल्लामा यातायातका साधन सञ्चालन गर्न स्थानीय प्रशासनले अनुमति दिए पनि वर्षाले ग्रामीण सडक भत्किएका तथा बिग्रिएका कारण सञ्चालन गर्न समस्या भइरहेको शैलेश्वरी यातायात प्रालिका प्रमुख प्रेमबहादुर रावलले जानकारी दिए ।

    सडक डिभिजन कार्यालय दिपायल कुल्पातेकाका अनुसार वर्षाका कारण यहाँका जोरायल, गड्सेरा, दिपायल नापानी, मौवा मेल्लेक, राजपुर बोगटान, बिपीनगर, बागछेडा, तल्कोट धुर्कोट, मुडभारा, सिलगढी नारीदाङ, गैराधुर्कोट सडक बिग्रिएर बन्द अवस्थामा छन् । बिग्रिएका सडकमा स्काभेटर लगाएर सञ्चालन गर्न खोजिए पनि वर्षा नरोकिएका कारण अहिलेसम्म यहाँका ग्रामीण सडक सञ्चालनमा ल्याउन नसकिएको बताइएको छ ।

    गाउँका सडकमा यातायातका साधन सञ्चालन हुन बन्द भएपछि अहिले यहाँका किसानले उत्पादन गरेका तरकारी बजारसम्म लैजान नपाउँदा बारीमै कुहिन थालेको बोगटान फुड्सिल गाउँपालिकाका किसान जगतबहादुर बमले बताए ।

    लामो समयदेखिको वर्षातले गाउँका सडक अवरुद्ध हुँदा स्थानीयवासी तथा किसानलाई निकै सास्ती हुँदै आएको छ । यतिमात्र नभई सडक अवरुद्ध भएका कारण यहाँका गाउँघरमा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न पनि समस्या भएको उग्रतारा यातायात प्रालि दिपायल शाखाका प्रमुख कृष्णराज भट्टले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार