काठमाडौं । प्रदेश नम्बर १ को सुनसरीबाट निषेधाज्ञाको अवधिमा स्याउ तस्करी भएको बिषयमा छानबिन भई नेपाल प्रहरी ३ र सशस्त्र प्रहरीका १ प्रहरीमाथि कारबाही भइसकेको छ । निषेधाज्ञाका बीच सुनसरीबाट मात्र होइन, प्रदेश २ का पर्सा, रौतहट, धनुषा र बाराबाट पनि स्याउ भारततर्फ तस्करी भएको खुल्न थालेको छ ।
रौतहटको गौर, मटिया, रामपुर खाबबाट स्याउ तस्करी हुने गरेको समाचार छ । स्रोतका अनुसार रौतहट जिल्ला प्रहरी कार्यालयका घुमुवा कमल खत्रीको सेटिङमा तीनवटै नाकाबाट स्याउ र मदिरा तस्करी हुने गरेको छ । घुमुवा खत्री पर्साको इनर्वा, अलौ, सिर्सिया थानाचौकीमा बसेर नाकाबाट हुने तस्करीमा सेटिङ गर्न अनुभवी हुन् । तत्कालीन पर्साका एसपी दिवेश लोहनीले उनलाई आर्थिक लेनदेनमा मुछिएपछि दरबन्दी रहेको रौतहटमै फर्काइदिएका थिए । रौतहटमा आएपछि पनि उनी हरेक एसपीका घुमुवाका रुपमा अतिरिक्त कमाइका लागि परिचालित छन् ।
रौतहटमा तस्करीका बादशाह मानिने शम्भु साहको आडभरोसामा भन्सार गौर भन्सारमा सरुवा भए । गौर भन्सार सरुवा भएपछि उनले तस्करहरुलाई फाइदा पुग्ने काममात्र गरेपछि प्रदेश नम्बर २ को प्रहरी कार्यालय जनकपुरमा उजुरी पर्यो । प्रदेश प्रहरीले चासो नदेखाएपछि नदेखाएपछि प्रहरी प्रधान कार्यालयमा उजुरी पर्यो । प्रहरी हेडक्वाटरले सोधेपछि जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धिविक्रम शाहले भन्सारको घुमुवाबाट ताने । गौर भन्सारबाट तानेर उनलाई जिल्लामा राखेर घुमुवा राखिएको छ । उनी ४ महिनादेखि घुमुवा कमाण्डर छन् ।
निषेधाज्ञाको समयमा सुनसरीबाट स्याउ तस्करी भएको बिषयमा छानबिन समिति नै गठन भएको थियो । प्रदेश नम्बर १ सुनसरीको लौकही नाकाबाट तस्करी भएको १ हजार ३ सय ५० कार्टुन स्याउ भारतको वीरपुरमा २०७८ जेठ ३० मा बरामद भएको थियो । निषेधाज्ञाको समयमा तस्करीको स्याउ बरामद भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत चासो राखेको थियो ।

अख्तियारले चासो राखेपछि प्रहरीले छानबिन टोली बनाएको थियो । नेपाल प्रहरीले एसएसपी राजेन्द्रप्रसाद चौधरीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो भने सशस्त्र प्रहरीले १ नम्बर बराह बाहिनीका एसएसपी प्रकाश थापाको नेतृत्वमा गठन गरेको थियो । समितिले स्याउ तस्करीमा नेपाल प्रहरीका एसपी थापा र सशस्त्रका गणपति पौडेललाई उन्मुक्ति दिएर तल्लो तहका प्रहरीलाई कारबाही सिफारिस गरेको छ ।
छानबिन टोलीले नेपाल प्रहरीका एसपी कमल थापा जोगाएर जुनियर प्रहरी अधिकृतलाई भने कारबाहीको सिफारिस गरेको हो ।
छानबिनका लागि गठन गरिएका दुवै टोलीले १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा प्रतिवेदन बुझाएका छन् । छानबिन टोलीले कारबाही सिफारिस गरेकाहरुमा तीनै जना नेपाल प्रहरीका जुनियर अधिकृत छन् । कारबाही सिफारिसमा परेकाहरुमा प्रहरी चौकी श्रीपुरका असई टेकबहादुर कार्की, अस्थायी प्रहरी चौकी हरिपुरका असई भूपराज पोखरेल र प्रदेश प्रहरीका घुमुवा सई किरण मोक्तान छन् ।
नेपाल प्रहरीका तीन असईका अलावा सशस्त्र प्रहरीको छानविन टोलीले सशस्त्र प्रहरी बल बिओपी लाहीका ईञ्चार्ज इन्स्पेक्टर महेश कार्कीलाई पनि दोषी ठहर गर्दै कारबाहीको लागि सिफारिस गरेको छ ।
जिल्लाका एसपीको जानकारी बेगर ट्रकका ट्रक स्याउ निषेधाज्ञाको अवस्थामा भारततर्फ जाने संभावना अति कम हुन्छ । तर छानबिन टोलीले जुनियर अधिकृतलाई कारबाही सिफारिस गरी सानालाई ऐन, ठूलालाई चैन भन्ने उखान चरितार्थ गरेको छ ।