नवलपरासी, १ जेठ । नवलपरासीका कोरोना संक्रमित ४९ वर्षीय पुरुष भारतबाट ट्रकमा चढेर आएको खुलेको छ।
बिहिबार कोरोना भाइरस भएका देवचुली नगरपालिका १२ निवासी ती पुरुष रक्सौलबाट काठमाडौंका लागि ट्रकबाट आएको हो ।
स्वास्थ्य कार्यालय प्रमुख रामकुमार श्रेष्ठले संक्रमित युवक नवलपरासी भने प्रवेश नगरेको जनाए। ‘उहाँ आउनुभएको थाहा पाउनेवित्तिकै उहाँलाई भरतपुर अस्पतालमा कोरोना परीक्षण गरेर आउन भनियो। अहिले पनि उहाँ अस्पतालकै आइसोलेसनमा भर्ना हुनुहुन्छ,’ उनले भने।
संक्रमित पुरुष भारतमा मजदुरी गर्दै आएका थिए। उनी सीमा बन्द भएपछि रक्सौलबाट ट्रकमा चितवनसम्म आएका थिए। त्यसपछि उनी सोझै नवलपरासी नगएर भरतपुर अस्पतालमा कोरोना परीक्षण गराउन भनी भर्ना भएका थिए।
उनी चढेको ट्रक काठमाडौंका लागि हिँडेको थियो। स्वास्थ्य कार्यालय प्रमुख श्रेष्ठले उनी चढेको ट्रकको विवरण काठमाडौंमा जानकारी गराएको बताए। उनी मंगलबार राति भारतबाट आएका थिए।