काठमाडौं । गृहमन्त्रालयले प्रस्ताव नै नलगे पनि सोमबारको मन्त्रिपरिषद बैठकले सशस्त्र प्रहरी बलका डिआइजी प्रवीणकुमार श्रेष्ठको १ बर्ष म्यादथप भएको हल्ला केही मिडियामा चलाइयो । र, सशस्त्रका आइजीपी शैलेन्द्र खनालले उनको म्यादथप गराउन बिचौलिया नरेश भट्टलाई विभिन्न शक्तिकेन्द्रमा खटाए । मिडियामा म्यादथपको हल्ला चलाउने र बिचौलिया भट्टलाई शक्तिकेन्द्रमा ब्रिफकेसको प्रलोभनसहित धाउँदा पनि डीआइजी श्रेष्ठको म्यादथप गराउने प्रयास बिफल भएको छ । मंगलबारदेखि बुधबार दिनभर बिचौलिया भट्ट प्रधानमन्त्री केपी शर्मा ओलीका आसेपासेलाई भेट्ने र प्रलोभन दिन तल्लीन रहे । तर उनको प्रयास खेर गएको छ ।
सशस्त्रका आइजीपी खनाल डिआइजी श्रेष्ठको म्यादथप गराउनका लागि एक महिनादेखि शक्तिकेन्द्र रिझाउन तल्लीन थिए । तर उनले प्रधानमन्त्री ओलीलाई भेट नै पाउन सकेनन्ु । आफ्ना विश्वासपात्र श्रेष्ठलाई एक बर्ष म्यादथप गराउन सके आफू अवकाशपछि २ बर्षसम्म अहिलेकै टीमले सशस्त्रमा हैकम जमाउन सकिने योजनाका साथ खनाल लागेका थिए । खनाल आगामी चैतमा अवकाश हुने र उनीपछि करिब २ बर्ष प्रवीण श्रेष्ठलाई आइजीपी बनाउने दाउ थियो ।
सशस्त्र प्रहरी बलमा खनाल आइजीपी भएपछि तत्कालीन डीआइजी सुरजकुमार श्रेष्ठ र त्यसपछि प्रवीण श्रेष्ठलाई काखी च्याप्दैआएका छन् । सुरजकुमार ३० बर्षे सेवावधिका कारण अवकाश भए । प्रवीणकुमारको म्यादथप गर्न नसकेपछि उनी पनि अवकाश भएका छन् । यद्यपि आइजीपी खनालले डीआइजी श्रेष्ठको अवकाशपत्र अझै पनि लुकाएर सोमबारको मन्त्रिपरिषद बैठकको माइन्यूटमा निर्णय लेख्न सकिन्छ कि भनेर चलखेल गरिरहेका छन् । मंगलबारै आएको अवकाशपत्र आइजीपी खनालले लुकाएर राखेका छन् । खनालले सशस्त्रमा सबै एकै भेगकालाई मात्र हालीमुहाली गर्ने अवसर दिएका छन् । केन्द्रीय लेखाको प्रमुखमा इन्स्पेक्टर गणेशबहादुर मल्ल, बजेट र प्रबन्धम एसपी पूर्ण साउद र दीपेन्द्र शाहलाई राखेर सशस्त्रमा आइजीपी खनालले सिन्डिकेट चलाएर भ्रष्टाचार गर्दैआएका छन् ।
प्रधानमन्त्री ओलीले आइजीपी खनालको यो सिन्डिकेट र खरिददेखि सरुवा र यूएनमा छनोटका क्रममा सिपाहीसँग पनि घुस असुली गरिएकोबारेमा जानकारी पाएकाले पनि डीआइजी श्रेष्ठको म्यादथपमा चासो नदिएको बालुवाटार स्रोत बताउँछ । जबकि यसअघि सशस्त्रका एआइजीद्वय पुष्पराम केसी र रामशरण पौडेलको आइजीपी खनालको चाहना बिपरीत म्यादथप भएको थियो । त्यसभन्दा अघि डीआइजी मन्दिप श्रेष्ठ र खड्ग राईको पनि एक बर्ष म्यादथप भएको थियो ।
को हुन् बिचौलिया भट्ट ?
नरेश भट्ट प्रायः आइजीपी खनालको निवासदेखि सचिवालयमै देखिने गरेका छन् । दुर्जकुमार राई आइजीपी हुँदा पनि भट्ट सशस्त्रमा आउजाउ गर्थे । बीचमा सिंहबहादुर श्रेष्ठको कार्यकालभर उनी सशस्त्रमा आउन छाडेका थिए । खनालले पदबहाली गरेदेखि उनी सशस्त्रमा बाक्लै आउने जाने गर्दछन् । आइजीपी खनालले भट्टलाई दाजु भन्दै सशस्त्रका ठेक्कापट्टा पनि विनाटेण्डर दिने गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार भट्टले २ बर्षअघि छोरीको विवाह गर्दा सशस्त्र प्रहरीको पार्टी प्यालेस सिंत्तै प्रयोग गरेका थिए । आइजीपी खनालले नै भट्टलाई सशस्त्र प्रहरीको पार्टी प्यालेस सिंत्तै प्रयोग गर्न दिएका थिए । आइजीपी खनालले सशस्त्र प्रहरीमा कार्यरत सिपाहीलाई भट्टको सवारी चलाउन खटाएको स्रोत बताउँछ ।
डिआइजी श्रेष्ठले कूटनीतिक आचारसंहिताविपरीत गोप्यरुपमा भारतीय दूताबास गएको गाडी नम्बर सहित सार्वजनिक भएको थियो । सरकारसँग अनुमति नलिई ६ मंसिर २०७६ मा बा २ झ २३९० नम्बरको सरकारी गाडी चढेर उनी लौनचौरस्थित भारतीय दूताबास पुगेका थिए । उनीमाथि अनुशासनको कारबाही गर्न सरकारले निर्देशन दिए पनि आइजीपी खनालले उनलाई पुरस्कृत गरी सचिवालय र प्रवक्ताको जिम्मा दिएका थिए । २ नम्बर प्रदेशको बाहिनीपति बनाई हाल सुदूरपश्चिको बाहिनीमा पठाएका हुन् ।