काठमाडौं । गृहमन्त्रालयले प्रस्ताव नै नलगेकाले सोमबारको मन्त्रिपरिषद बैठकमा सशस्त्र प्रहरी बलका डीआइजी प्रवीणकुमार श्रेष्ठको म्यादथप हुन सकेको थिएन । गृहको प्रस्ताव विना नै एकाएक मंगलबार श्रेष्ठको म्यादथप भएको सूचना सार्वजनिक भएको छ । गृहले प्रस्ताव नै नलगेकाले सोमबारको मन्त्रिपरिषद बैठकले निर्णय नै नगरेको अवस्थामा मंगलबार उनको म्यादथप कसरी भयो त ?
भेगीय दबाबमा परी उनको म्यादथपको निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीमाथि चर्को दबाब परेको स्रोतले बताएको छ । स्रोतका अनुसार गृहको प्रस्ताव नै नभएको र सोमबारको बैठकमा निर्णय नभएको श्रेष्ठको म्यादथपमा सही गर्न मुख्यसचिव शंकरदास बैरागीले मानेका छैनन् ।
डीआइजी श्रेष्ठको म्यादथप भएको प्रचार भइरहेको छ । उनलाई सामाजिक संजालमा बधाइका ओइरो लागेका छन् । तर म्यादथप हुँदै नभएको एकथरीको भनाइ छ भने अर्कोथरी म्यादथप भइसकेको भन्दै बधाइ दिइरहेकाले अन्योल कायम छ ।
सशस्त्र प्रहरी बलका आइजीपी शैलेन्द्र खनाल नै श्रेष्ठको म्यादथपका लागि दौडधूपमा छन् ।
डीआइजी श्रेष्ठ कूटनीतिक आचारसंहिताविपरीत गोप्यरुपमा भारतीय दूताबास गएको गाडी नम्बर सहित सार्वजनिक भएको थियो । सरकारसँग अनुमति नलिई ६ मंसिर २०७६ मा बा २ झ २३९० नम्बरको सरकारी गाडी चढेर उनी लौनचौरस्थित भारतीय दूताबास पुगेका थिए । उनीमाथि अनुशासनको कारबाही गर्न सरकारले निर्देशन दिए पनि आइजीपी खनालले उनलाई पुरस्कृत गरी सचिवालय र प्रवक्ताको जिम्मा दिए । २ नम्बर प्रदेशको बाहिनीपति बनाए ।