Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाल प्रहरीमा ठकुरीवाद हावी 


    शनिबार, असार ५ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीका आइजीपी शैलेश थापा क्षेत्री छन् । तर प्रहरीका सरुवा बढुवा र अवसरमा भने ठकुरीवाद हावी भएको गुनासो ब्यापक छ । संगठनमा वर्तमान आइजीपी आएपछि सरुवामा कार्यक्षमताभन्दा पनि ठकुरीवादले प्रश्रय पाउँदैआएको छ । महानगरीय प्रहरी कार्यालयका एआइजी हरिबहादुर पाल र प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख एआइजी निरजबहादुर शाहीको बोलवाला संगठनमा देखिएको छ । चेन अफ कमाण्डमा चल्ने फौजी संगठनमा जस अपजसको भागिदार कमाण्डर (आइजीपी) नै हुन्छ । तर अब ९ महिना कार्यकाल बाँकी रहेका आइजीपी क्षेत्री एआइजीद्वय पाल र शाहीको अगाडि निरीह जस्तै देखिएका छन् । काज सरुवामा समेत ठकुरीले मात्र मौका पाउने गरेको गुनासो प्रहरी अधिकारीको छ । ठकुरीबाहेक पाल र शाहीसँग काम गरेका र दुवैलाई खुसी बनाएका अधिकृतले मौका पाउने गरेका छन् । नेपाल प्रहरीमा डीएसपीदेखि एसएसपीसम्म ठकुरीवाद मौलाएको छ ।

    माथिल्ला पदमा मात्र होइन, सिपाहीदेखि प्रनानि(सई)सम्मको काज र नियमित सरुवाको सूची पल्टाएर हेर्ने हो भने ठकुरी, त्यसपछि भेगीय हिसाबले मध्य र सुदूरपश्चिमकै बाहुल्यता देखिनेछ । 

    आइजीपी क्षेत्रीले चार एआइजीमध्ये कार्य तथा अपराध अनुसन्धान विभागका प्रमुख विश्वराज पोखरेललाई बैठकमा समेत नबोलाउने गरेको स्रोत बताउँछ । स्रोतका अनुसार पोलिसी कोअर्डिनेसन कमिटी(पीसीसी) मिटिङमा बाहेक उनलाई बोलाइँदैन । पोखरेल बरिष्ठ एआइजी हुन् । प्रद्युम्न कार्की एकेडेमीमा भएकाले उनलाई समेत सरुवाबारे चासो राख्ने कुरा भएन । आइजीपी क्षेत्री र एआइजीद्वय पाल र शाही बसेर निर्णय गर्ने गरेका छन् ।

    ठकुरीवादको दृष्टान्त सर्लाही, मकवानपुर, बारा, रौतहटजस्ता जिल्लाका इन्चार्ज हुन् । सर्लाहीमा एसपी सन्तोषसिंह राठौर, मकवानपुरमा सोमेन्द्रसिंह राठौर, बारामा दीपेन्द्र शाही, रौतहटमा सिद्धिविक्रम शाह छन् । बाराका एसपी शाही त एआइजी पालका आफन्त नै हुन् । चितवनका ओम अधिकारी र मोरङका सन्तोष खड्का हरि पालका अति निकट हुन् । अधिकारी पालसँग भेगीय हिसाबले निकट हुन् । उनी अछामका हुन् । खड्का त पाल प्रदेश नम्बर २ को डीआइजी हुँदा उनका घुमुवा इन्चार्ज भएर ८ वटै जिल्लामा अतिरिक्त आम्दानी गराउने भनेर चिनिएकै पात्र हुन् ।

    त्यसैगरी, काठमाडौं परिसरका एसएसपी अशोक सिंह पनि आफूलाई ठकुरी नै भन्छन् । उनी पनि पाल निकट मानिन्छन् ।

    झापाका सानुराम भट्टराई प्रधानमन्त्री केपी ओलीकै निकट भएकाले उनले मौका पाएका हुन् । रुपन्देहीमा मनोजकुमार केसी अर्थमन्त्री बिष्णुप्रसाद पौडेलको जोडबलमा मनोज केसी, बाँकेमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीकलाई प्रभावमा पारी ओमबहादुर राना सरुवा भएका थिए ।

    पश्चिम नवलपरासीका अजय केसी महेश बस्नेतको जोडमा सरुवा भएका थिए ।

    पर्साका बेलबहादुर पाण्डेले पूर्वडीआइजी ज्ञानेन्द्रविक्रम महतको भनसुनमा ठाउँ पाएका हुन् । आइजीपी हुनासाथ शैलेश थापा क्षेत्री पूर्वआइजीपीहरुकोमा नगई महतको आशीर्वाद लिन पुगेका थिए । एसपी पाण्डे महतका ज्वाई हुन् । उनी सीआइबीमा हुँदा ललिता निवास जग्गाको बारेमा अनुसन्धान टोलीमा थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार