काठमाडौं । प्रहरीसँग सेटिङ मिलाएर चीनबाट स्याउ आयात गरी नेपालको बाटो हुँदै भारततर्फ तस्करी हुने गरेको छ । भारतसँग सीमा जोडिएका नेपालका बिराटनगर, बीरगंज, भैरहवा, महेशपुर नाकाबाट चिनियाँ स्याउ तस्करी हुँदैआएको छ । सुपारी, केराउ र मरिचमा कोटा तोकिएपछि पछिल्लो समयमा चिनियाँ स्याउ तस्करी हुँदैआएको छ । प्रहरी स्रोतका अनुसार स्याउ तस्करीमा प्रहरीका उच्च अधिकारी नै संलग्न हुने गरेको आशंका गरिएको छ ।
स्याउ तस्करीको बिषय बाहिरिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले अलगअलग रूपमा छानबिन थालेका छन् । निषेधाज्ञाकै समयमा नेपालको सुनसरीको सीमानाकाबाट भारत तस्करी भएका तीन ट्रक चाइनिज स्याउ बिहार राज्यको वीरपुरमा बरामद गरेको थियो । १ हजार ३५० कार्टुन स्याउ तस्करी प्रकरणमा सुनसरी जिल्लाका उच्च प्रहरी अधिकारीको समेत संलग्नता आशंका गरिएको छ ।
सुनसरीको लौकही नाकाबाट रातारात तीन वटा नेपाली ट्रकमा स्याउ भारत पुगेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले छुटाछुट्टै समिति बनाएर छानबिन सुरू गरेका छन् । दुबै प्रहरी संगठनले एसएसपीको नेतृत्वमा छुटाछुट्टै समिति गठन गरेर अनुसन्धान सुरू गरेको छ ।
प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरले एसएसपीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरीले पनि एसएसपी नेतृत्वमा तीन सदस्यीय समिति बनाएर छानबिन सुरू गरेको छ ।
चीनबाट आयात गरिएको स्याउ अवैध रूपमा सीमा कटाएर भारतको वीरपुर र्पुयाएपछि भारतीय प्रहरीको नियन्त्रणमा परेको थियो । स्याउ बोकेर गएका तीन वटा नेपाली ट्रकसहित आठ जनालाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।
यसअघि पर्साको भिस्वा नाकाबाट पनि भारततर्फ स्याउ तस्करी भएको समाचार सार्वजनिक भएको थियो ।
२०७७ माघ १७ मा पर्साको भिस्वा नाकाबाट तस्करी भएको ७ ट्याक्टर (३ सय ८० कार्टुन) चाइनिज स्याउ बिहारको सिक्टा प्रहरीले बरामद गरेको थियो ।
सिक्टा थाना अध्यक्ष मनिषकुमार शर्मा र एसएसबी ४७ वी बटालियन बीओपी प्रभारी सहायक सेनानायक संदिप कुमारको संयुक्त टोलीले उक्त स्याउ बरामद गरेको थियो ।

पर्साको भिस्वा नाका हुँदै तस्करी भएको ७६ सय किलो स्याउ २०७७ माघ १७ मा बिहारको सिक्टामा बरामद भएको थियो
सुनसरीको सीमानाकाबाट मात्र होइन, प्रहरी र सीमा सुरक्षाको जिम्मा लिएको सशस्त्रका अधिकारीको मिलेमतोमा चिनियाँ स्याउ लामो समयदेखि भारततर्फ तस्करी हुने गरेको छ ।