काठमाडौं, ३० बैशाख । सरकारले नेपाल प्रहरीमा दुई डिएसपीसहित करिब तीस नयाँ दरबन्दी थप गरेको छ । एआइजी र डीआइजीका माथिल्ला दरबन्दी कटौती गरेको सरकारले नेपाल प्रहरीको तल्लो तहमा भने दरबन्दी थप गरेको हो । डिएसपीका दुई पद अख्तियार दुरुपयोग अनुसन्धान आयोगका लागि थप भएको हो । थप दरबन्दीको प्रहरी किताबखानामा पद दर्ता गरेर बढुवाको तयारी गरिएको छ ।
हाल प्रहरीमा डिएसपीका ५६ दरबन्दी रिक्त छन् । अब रिक्त पदसंख्या ५८ हुने भएको छ । जसमा बढुवाका लागि एक सयभन्दा धेरै इन्सपेक्टरहरु प्रतिस्पर्धामा छन् ।
ओली सरकारभन्दा अघिको शेरबहादुर देउवा नेतृत्वको सरकारले एआइजीका दरबन्दी थपेर १५ वटा पु¥याएको थियो । ओलीले त्यसलाई घटाएर ३ मा सीमित गरे । संघीय प्रहरी ऐन बनिसकेकाले अब प्रहरी समायोजनमा डीआइजीको संख्या पनि बढी हुने देखिएपछि २६ बाट कटौती गरी १४ मा ल्याएको छ । एक डीआइजी र एआइजीको लागि प्रदान गरिने विभिन्न सुविधाको खर्चले एउटा प्रहरी चौकी स्थापना गर्न पुग्ने भएकाले पनि सरकारले माथिल्ला अनावश्यक दरबन्दी कटौती गरेको थियो ।