काठमाडौं, २७ बैशाख । तातोपानी नाकामा सिल्क ट्रान्सपोर्टको नाममा सुन लगायतका अवैध सामान निर्वाध ढुवानी हुन थालेपछि नेपाल प्रहरीको केन्द्रीय प्रहरी ब्यूरो (सिआईबी)मा पनि उजुरी परेको छ । स्थानीय ब्यक्तिहरुले सिआईबीमा पुगेर यस बिषयमा अनुसन्धानका लागि ध्यानाकर्षण गराएका थिए ।
स्थानीय प्रहरी प्रशासनकै सहयोगमा अवैध सामान आयात हुन थालेपछि चर्को बिरोध भएको थियो । बिरोधका क्रममा स्थानीय जनप्रतिनिधिहरुले पनि यसप्रकारका सामान चेकजाँच नगरी नेपाल नल्याउन आग्रह गरेका थिए । तर, यस बिषयमा कुनै सुनवाई नगरी प्रहरी प्रशासनले विनाचेकजाँच नै स्कर्टिङ गरी सामान आयात गर्दैआएको छ । तातोपानी भन्सार प्रमुख लालबहादुर खत्री, सिन्धुपाल्चोकका एसपी प्रज्वल महर्जन, प्रमुख जिल्ला अधिकारी उमेश ढकाललाई मिलाएर सिल्क ट्रान्सपोर्टका संचालक रमेश शेर्पाले सुन भित्र्याउने गरेका छन् ।
बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाका भान्जा रमेशको समूहले प्रहरी प्रशासन मिलाएर स्कटिङ गरी सुन काठमाडौं ल्याउने र लकडाउनका बीच पनि त्यो सुन भारततर्फ पुर्याउने काम सुन तस्करहरुले जारी राखेका छन् । कोरोना भाइरसको महामारीको त्रास ब्याप्त भएको मौका छोपी तस्करहरुले सुन ब्यापक परिणाममा भित्र्याइसकेका छन् । र त्यो सुन समाजसेवाको आवरणधारी केही ठूला सुनतस्करहरुले काठमाडौंबाट भारततर्फ तस्करी गर्ने गरेको स्रोतको दाबी छ ।
लकडाउनका बेला सहज आयात हुनुपर्ने तातोपानी नाकामा अहिले तस्करका कारण तनाव सिर्जना भएको लामो समय भएको छ । खुल्ला प्रतिस्पर्धा भए पनि सिल्क ट्रान्सपोर्टका नाममा एकलौटी सामान ढुवानी हुन थालेपछि तनाव सिर्जना हुन थालेको हो । पटक पटक सुन कारोवारमा संलग्न पाइएका बाह्रविसे नगरपालिका ५ गातीका रमेश शेर्पाको स्वामित्वमा रहेको यो ट्रान्सपोर्टले तस्करीको सामान ढुवानी गरिरहेका कारण स्थानीय अवरोधसमेत गरेका थिए । तर, स्थानीय प्रहरी र प्रशासनलाई प्रभावमा पारेर ती गाडीहरु चेकजाँचसमेत नभएपछि स्थानीय पनि आक्रोशित भएका छन् ।
अहिले नेपालमा आइरहेका सामान सबै सिल्क ट्रान्सपोर्टले ल्याइरहेको छ । चिनियाँ मुसा भन्ने कम्पनी र बाह्रविसे नगरपालिकाका रमेश शेर्पासहित केही नेपालीको आधा लगानी रहेको सो ट्रान्सपोर्टका दुई सयभन्दा धेरै कन्टेनर छन् । अहिले नेपालमा ल्याइने सबै सामान ढुवानी गर्ने काम सबै यही कम्पनीको एकलौटी छ । कन्टेनरहरु अहिले रातारात नेपालतर्फ सामान ल्याउन प्रहरीकै स्कटिङ हुने गरेको छ ।
अत्यावश्यक र आवश्यक सामान ल्याउन छुट सरकारले दिएको अवसरको फाइदा उठाउँदै सुनको तस्करी व्यापक भइरहेको जानकारहरु बताउँछन् । यी सामानहरु तिब्बतमा वा खासामा मात्र सेटीङ भएर आउने नभई ग्वान्जाओबाटै सेटिङ भएर आउने ब्यसायीहरु बताउँछन् । तातोपानी नाकासँगै जोडिएको भोटेकोशी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठले नै अत्यावश्यक सामानका ल्याउने भनेर प्रहरी स्कटिङमा राति राति सिल्क ट्रान्सपोर्टका दसौं कन्टेनर दैनिक आउने गरेको र ती कन्टेनरमा सुन ल्याइएको आशंका प्रकट गरेका छन् । तर ती कन्टेनरभित्र के ल्याइएको छ प्रहरीले कहिल्यै चेक नगरी स्कटिङ गरी काठमाडौं लैजाने गरेको गुनासो गर्दै फेसबुकमा भिडियो नै पोष्ट गरेका छन् ।
हेर्नुहोस्, वडाध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठले पोष्ट गरेको भिडियोः
यो पनि पढ्नुहोस्ः
तातोपानी नाकामा सिल्क ट्रान्सपोर्टको एक्लौटी, लकडाउनको मौका छोपी सुन तस्करी