काठमाडौं, २५ बैशाख । सरकारले राजमार्ग र सहायक राजमार्गमा स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरेर होटेल तथा रेस्टुरेन्ट सञ्चालन गर्न दिने निर्णय गरेको छ । बुधबारको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । खानाको प्याकेट मात्र बेच्न पाउने ।
थोरै मात्र होटेल तथा रेस्टुरेन्ट सञ्चालन गर्न पाइने र उनीहरूले खानाको प्याकेट मात्र बिक्री गर्न पाउनेछन् । ‘खासगरी ढुवानीका साधन लिएर हिँड्नुपर्ने चालक तथा अति आवश्यकीय काममा हिँड्नुपर्ने व्यक्तिहका लागि सेवा प्रवाह गर्न जरुरी भएकाले राजमार्ग र सहायक राजमार्गमा कम्तीमा ५० किलोमिटरको दूरीमा सम्बन्धित स्थानीय तहले तोकेको स्थानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको मापदण्ड अवलम्बन गरी सवारीसाधन मर्मत गर्ने वर्कसप, पेट्रोल पम्प र खानाको प्याकेट मात्र बिक्री गर्ने गरी होटेल(रेस्टुरेन्ट सञ्चालन गर्ने व्यवस्था स्थानीय प्रशासनले मिलाउने निर्णय भएको छ,’ अर्थ तथा सञ्चारमन्त्री डा . युवराज खतिवडाले भने ।
बैठकले विभिन्न किसिमका उद्योगहरू सञ्चालन गर्न दिने निर्णय पनि गरेको छ । त्यहाँ काम गर्ने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने र सबैलाई एकैठाउँमा राख्नुपर्नेछ ।
बैठकले निर्माण सामग्री ओसारपसारको पनि अनुमति दिएको छ । नयाँ पत्रिकाबाट